१ कार्तिक २०८३, आइतबार

आयोगले भन्यो- टीकापुर घटना राजेन्द्र, उपेन्द्र र अमरेशको उत्तेजक भाषणले

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष कैलालीको टीकापुरमा भएको हिंसात्मक घटना राजनीतिक दलका नेताको उत्तेजक भाषण र सुरक्षा निकायको लापरवाहीका कारण भएको निष्कर्ष निकालेको छ ।

घटनाबारे मंगलबार आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा राजनीतिक दलका नेताको उत्तेजक भाषण प्रमुख कारण रहेको उल्लेख गरेको छ ।

आयोगले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरममा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस सभासद् अमरेशकुमार सिंह र नेकपा–माओवादीका नेता देव गुरुङले उत्तेजक भाषण गर्दा स्थिति तनाबपूर्ण बनेको बताएको छ ।

यसअघि संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर घटना भएको निष्कर्ष निकाल्दै कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

थरुहटको आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक झडपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारवाही

डीआईजी खडानन्द चौधरी (वायाँ) र एसपी लक्ष्मणबहादुर सिंह

यसैबीच आयोगले सुरक्षा लापरबाहीले टीकापुर घटना भएको भन्दै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) खडानन्द चौधरी र सशस्त्र प्रहरी बल उग्रतारा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ ।

सुरक्षाकर्मीका परिवारलाई रोजगारी र छोराछोरीलाई शिक्षा

आयोगले टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारजनलाई रोजगारी र छोराछोरीलाई शिक्षा दिन सरकारलाई सिफारिस गरेको छ । घटनामा भएको क्षति यकिन गरी क्षतिपूर्ति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ ।

यसैगरी घटनामा कैलालीको तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुमन धितालले पनि मानवअधिकार उल्लङ्घन गरेको ठहर गरेको छ ।

सप्तरी घटनाको निश्पक्ष छानविन गर्न माग

आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै झडपमा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

र, मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा घाइते भएका सर्वसाधारण उपचारको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरिएको छ । आयोगले कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा हदैसम्मको संयमता अपनाउनसमेत आग्रह गरेको छ ।