
काठमाडौं, २४ फागुन । सोमबार दिउँसो सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो ।
यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि आज बिहान आकस्मिक रुपमा प्रहरी हेडक्वार्टर नक्साल पुगेका छन् । तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई आज बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर उनले सप्तरीमा हिजो भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिएका थिए । गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले हिजो र आज भएका घटनाबारे जानकारी गराएको बताइएको छ ।











प्रतिक्रिया