काठमाडौं, २४ फागुन । सप्तरी घटनापछि उत्पन्न परिस्थितिले रिसाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल चलाउने भएको छ ।
काठमाडौंको तीनकुनेमा आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा छलफल गर्न लागेको हो । मधेसी मोर्चाका मागलाई सरकारले पूरा गर्छु भनेर धोका दिइरहेकोले समर्थन जारी राख्नुको कुनै औचित्य नरहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले सप्तरीमा गोली चलाएर निर्दोष नागरिकको ज्यान लिएको भन्दै अब सरकारलाई दिएको समर्थन जारी राख्न नुहेन बताए ।
उनले भने, ‘आज मधेसी मोर्चा र संघीय गठबन्धनका अलग अलग बैठक बस्दैछ । ती बैठकहरूमा यो विषयले प्रमुखता पाउनेछ । सम्भवत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आजै सभामुखलाई पत्र पठाउन सकिनेछ ।’
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थनको पत्र आजै सभामुखलाई बुझाउने पनि तयारी भएको छ ।
गठबन्धनको बैठक मध्यान्ह १२ र मधेसी मोर्चाको बैठक अपरान्ह ३ बजे बस्ने तय भएको छ ।











प्रतिक्रिया