१ कार्तिक २०८३, आइतबार

एमालेले माग्यो गृहमन्त्री निधिको राजीनामा

36.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै फुयाँलले गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजिनामा दिनुपर्ने माग गरे ।

मन्त्री निधिले एमालेलाई मधेशबाट लेखट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै निधिको उक्त भनाईप्रति आफूहरुको गम्भिर आपत्ति रहेको फुयाँलले बताए । उनले यसबारेमा सदनमा समेत आफ्नो पार्टीले कुरा उठाउने स्पष्ट पारे । फुयाँलले भने, ‘यो मुद्दा सिँगो पार्टीको मुद्दा हो ।’

उनले आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उक्त अभियान संविधान कार्यान्वयनको लागि भएको स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनवीच कुनै साईनो–सम्बन्ध नै नरहेको जिकिर गरे ।

उनले आफ्नो पार्टीले अभियान चलाउनु भनेको संविधानको मौलिक हकको प्रयोग गरेको बताए । उनले भने, ‘मधेशमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ ।’

उनले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको बताउँदै अभियान देशभर दौडाउने बताए । उनले थपे, ‘हामी देशभरि आमसभा गर्छों, मधेशमा लाखौं लाख जनताहरु अभियानमा होमिनुहुन्छ ।’

मधेशी मोर्चाले त एमालेलाई मधेशमा प्रवेश गर्न नदिने भनेर उद्धघोष गरिसकेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा फुयाँलले भने, ‘बाघले बन देखेको छ, एमाले बाघ हो, त्यसैले बाघले बन देखेको छ ।’

अभियान विथोल्नेहरु गौर–काण्डका डिजाईनरः मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले स्थानीय चुनाव गराउनको लागी सरकारलाई खुट्का नकमाउन सुझाव दिएका छन् ।

मैनालीले तोकिएको मितिमा स्थानिय तहको निर्वाचन गर्नको लागि सरकारलाई प्रतिवद्ध भएर लाग्न सुझाव दिँदै भने, ‘ढिलै भएपनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ, चुनावको मिति घोषणा मुखले भएर मात्रै हुँदैन, देख्दा त सबै बलिया नै हुनुहुन्छ, त्यतिले पुग्दैन, दिमाग पनि बलियो बनाउनु पर्छ, बिचार पनि योग्य हुनुपर्छ, राम्रो हुनुपर्छ, पछिल्लो समयमा संशोधन कानुन भन्दा बाहिरबाट आएको छ, यो असंवैधानिक छ, हामीले यसलाई संसदमा छलफल पनि गर्न दिदैनौ भनेका थियौँ, किन कि त्यो कानुन भन्दा बाहिरको कुरा हो, त्यस्ता कुराहरूलाई संसदमा लिनु राम्रो होइन ।’

उनले फरक प्रसंगमा एमालेको मेची–महाकाली अभियानलाई कसैले पनि रोक्न नहुने बताउदै भने, ‘यो देशको तेस्रो ठुलो राजनीतिक दल, मुख्य प्रतिपक्षी दल हो, त्यसले निर्वाचनको वातावरण बनाउनको लागि आमसभा किन गर्न पाउँदैन? उसलाई मधेशी मोर्चाले अबरोध गरेको समाचार आईरहेको छ, यो मोर्चाको महाभूल हो, यसले एमाले पार्टीलाई होईन मधेशी मोर्चालाई नै घाटा गर्छ ।’

उनले अघि भने, ‘हाम्रा ४० वटा असहमतिका बीचमा संविधान आएको छ, यसलाई हामीले स्वीकार गरेका छौँ, उहाँहरू किन लोकतन्त्र बिरोधी काम गर्दै हुनुहुन्छ, यो गम्भीर भूल हो, गौर काण्डको डिजाईनर मलाई थाहा छ, त्यसको नाम म भन्न सक्छु, आज पनि मधेशमा एमाले पार्टीलाई रोक्न खोज्ने र संक्रिणतावादी सोचले राजनीति गर्ने मानिस नै आज एमालेको आमसभालाई विथोल्ने, भयभित बनाउने काममा लागिरहेको छ, यो सिके राउतको आवाजलाई साथ दिने काम हो, बोली र गोली छुटेपछि आफ्नो हुँदैन संवेदनशिल हुन जरुरी छ ।’