जनकपुर, २३ फागुन । नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिरहँदा तराईमा पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा सोमबार मधेसी मोर्चाका युवा नेता सुन्देशर यादव एमाले प्रवेश गरेका छन् । अनिल झाको नेतृत्वमा रहेको संघीय सद्भावना पार्टीबाट संविधानसभा चुनावमा धनुषा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका यादव आफ्ना दर्जनौं कार्यकर्तासहित आज दिउँसो जनकपुरस्थित एमाले पार्टी कार्यालय मिथिलाभवनमा आएरै पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई एमालेका केन्द्रिय सदस्य श्रीप्रसाद साह र यदुवंश झाले टीका र माला लगाएर पार्टीमा स्वागत गरे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको विकासमा गरेको पहल र एमालेले उठाइरहेको राष्ट्रियताको एजेण्डा बुझेपछि उनीहरु जनकपुरका स्थानीय नेता एवं युवा संघका सचिवालय सदस्य सञ्जीवकुमार झामार्फत एमालेमा आबद्ध भएका हुन् ।
नवप्रवेशीले भने- ओलीलाई साथ दिन एमालेको कार्यकर्ता भयौं
पार्टी प्रवेश गर्दै युवा नेता यादवले एमाले अध्यक्ष ओलीको विकासको सपनालाई साथ दिन एमालेमा आएको बताए । ‘यो देशमा कोही राजनेता हो भने केपी ओली हो । बाँकी यो मधेसी मोर्चाहरु फटाहा र दलाल मात्रै हो,’ पार्टी प्रवेश गर्दै उनले भने– ‘त्यही भएर केपी ओलीलाई साथ दिन हामी पनि एमालेका कार्यकर्ता भएर लाग्छौं भनेर पार्टीमा आयौं ।’
नेता यादवले एमालेले गरिरहेको मेची महाकाली अभियानलाई धनुषामा सफल पार्न आफू मरिमेटी लाग्ने भन्दै भने– ‘अभियानलाई जसले अवरोध गर्न खोज्यो त्यसलाई इटको जवाफ पत्थरले दिन्छौं ।’
फागुन २५ गते धुमधामले सयौं कार्यकर्ता प्रवेश गराउने
एमालेले थालेको मेची महाकाली अभियान फागुन २५ गते जनकपुर पुग्दैछ । त्यसलाई सफल पार्न आफू आजै पार्टी प्रवेश गरेको भन्दै यादवले फागुन २५ गते धुमधामका साथ सयौ कार्यकर्ता पार्टीमा प्रवेश गराउने प्रतिबद्धता जनाए । ‘मधेसी मोर्चाको उद्देश्य जनताले बुझिसकेका छन्,’ उनले भने– ‘मधेसी जनतालाई अधिकार मात्र होइन् रोजगार र विकास पनि चाँहिएको छ । जून एमालेको नेतृत्वमा मात्र सम्भव छ ।’

















प्रतिक्रिया