५ मंसिर २०८३, शनिबार

एमालेको अभियानमा अवरोध नगर्न भन्दै समितिले मधेसी मोर्चालाई सचेत गरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । माधवअधिकारको वकालत गर्ने जवाफदेहिता निगरानी समितिले नेकपा एमालेको मेची महाकाली अभियानमा अवरोध नगर्न मधेसी मोर्चालाई सचेत गराएको छ ।

समितिका अध्यक्ष चरण प्रसाईले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरूको शान्तिपूर्ण क्रियाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक क्रियाकलाप नगर्न मोर्चालाई सचेत गराएका हुन् ।

‘मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन समेत आग्रह गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षण गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ- ‘आम नागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्ति गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।’

यस्तो छ विज्ञप्तिः

लोकतान्त्रिक स्वतन्त्रताको सम्मानगर्न अपिल

लोकतन्त्रको प्राण नागरिक सर्वोच्चतामा रहेको हुन्छ । त्यसैले बिना त्रास र दबाब नागरिकले वार्ता गर्ने, तर्क गर्ने, सङ्गठित हुने, निर्वाध आवागमन, पेशा व्यवसाय गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनले मौलिक र अनुल्लङ्घनीय नागरिक हकका रूपमा व्यवस्थित गरेका छन् ।

नेपाल बहुदलीय लोकतान्त्रिक देश हो भन्ने कुरामा कसैको विमति छैन । बहुदलीय व्यवस्थामा नागरिकको सङ्गठित आवाजका प्रतिनिधि राजनीतिक सङ्गठनहरू नै हुन् । सभ्य राजनीतिको अगुवा प्रतिनिधिका रूपमा शान्तिपूर्ण सभा, तार्किक र निर्वाध कृयाकलाप गर्ने कामलाई आत्मसात गर्नु र सहयोग गर्नु राजनीतिक दलहरूको नियमित काम मात्र होइन कर्तव्य पनि हो ।

नेपालमा केही समययता हाम्रा अगुवा राजनीतिक सङ्गठनद्वारा नै सङ्गठित रूपमा अर्काको अभिव्यक्ति गर्ने अधिकार उपर बाधा विरोध गर्ने चरित्र मौलाउँदै गएको छ । यसैसन्दर्भमा नेकपा (एमाले) द्वारा आयोजित मेची–महाकाली राष्ट्रिय एकता यात्रामा भिडन्त हुनसक्ने भनी मधेस केन्द्रित दलका अगुवाहरूको अभिव्यक्ति आएको छ । सप्तरीमा तिनका कार्यकर्ताले एमालेका प्रचारकलाई मोसो दलेका छन् । मधेसी मोर्चाले एमालेद्वारा पूर्वघोषित कार्यक्रमलाई बाधा गर्ने गरी समानान्तर विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलापप्रति हामी पूर्ण असहमत छौँ । मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेत रहन समेत आग्रह गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षण गर्छौँ । साथै आम नागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्त गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।

चरण प्रसाईँ
संयोजक, जवाफदेहिता निगरानी समिति