
जनकपुर, २२ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान चलिरहँदा तराईमा पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा आइतबार धनुषाको जनकपुरमा दर्जनौं युवा एमालेमा प्रवेश गरेका छन् । युवा संघ नेपालको धनुषा क्षेत्र नम्बर ४ तथा जनकपुर उपमहानगरपालिकाको भेलामा नेपाली कांग्रेस र मधेसी मोर्चामा आवद्ध युवाहरु एमाले प्रवेश गरेका हुन् ।

युवा संघ केन्द्रीय सचिवालय सदस्य सञ्जीव झाका अनुसार पार्टी प्रवेश गर्नेमा १२ वर्षदेखि मधेसी मोर्चामा आवद्ध वैजु मधेसीको नेतृत्वमा, रोशन कर्ण, दीपनारायण यादव, देवप्रकाश शाह ‘पप्पु’, सञ्जय शर्मा, पिन्टु झा, सन्तोष भण्डारी लगायत युवाहरु रहेका छन् । नवप्रवेशीहरु करिब ८ वर्षदेखि मोर्चा र कांग्रेसमा आबद्ध थिए ।

नवप्रवेशी युवाहरुलाई युवा संघ नेपालका केन्द्रीय महासचिव किरण पौडेलले टिका र माला लगाएर पार्टीमा स्वागत गरे । उनले उचित जिम्मेवारी दिइने भन्दै नवप्रवेशीलाई संगठित भएर मधेसका युवाको विकासमा लाग्न निर्देशन दिए । ‘तपाईहरुलाई हामी उचित उम्मेदवारी दिन्छौं । मेची महाकाली अभियानमा जुटेर लाग्नुस्,’ उनले भने ।

पार्टी प्रवेश गर्दै युवा नेता वैजु मधेसीले मधेसको साँच्चै हित चाहने नेता कोही छ भने त्यो केपी ओली भएको बताए । ‘केपी ओलीलाई धनुषामा कसैले अवरोध गर्न खोजे महंगो मुल्य चुकाउनुपर्छ,’ उनले चेतावनी दिँदै भने– ‘मोर्चाले सधैभरी मधेसलाई लुटेर आफ्नो घर बनाउने काम मात्रै गर्यो । त्यही भएर म एमालेमा प्रवेश गरे ।’

भेलाले जयप्रकाश साह (पप्पु) को अध्यक्षतामा युवा संघ धनुषा– ४ को क्षेत्रीय कमिटी गठन गरेको छ भने अमरदिप कर्ण (रोशन) को अध्यक्षतामा नगर कमिटी गठन गरेको छ ।

शनिबारदेखि सुरु भएको एमालेको मेची महाकाली अभियान फागुन २५ गते धनुषा पुग्दैछ । त्यसको पूर्वसन्ध्यामा मधेसमा युवाहरु एमालेमा समाहित भएका हुन् ।











प्रतिक्रिया