काठमाडौं, २० फागुन । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय ‘नेपाल लगानी सम्मेलन’मा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ ।
लगानी बोर्डका अनुसार सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । ‘सम्मेलनमा चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि बढी र उत्साहजनक रुपमा चासो देखाएका छन्,’ उद्योगमन्त्री नवीन्द्रराज जोशीले भने ।
सम्मेलनमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चीनका लगानीकर्ताले गरेको प्रतिवद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो । चिनियाँ लगानीकर्ताको तर्फबाट भएको घोषणाले भारतीय लगानीकर्तालाई निकै पछि पारेको छ ।
नेपालमा लगानीका लागि होडबाजीमा रहको भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले ३१ अर्ब ७० करोडको मात्रै प्रतिवद्धता जनाएका छन् । भारतबाट आएको प्रतिवद्धता कुल घोषित रकमको २.२९ प्रतिशत मात्रै हो ।
कुन देशबाट कति लगानी प्रतिबद्धता ?
उद्योगमन्त्री नवीन्द्रराज जोशीका अनुसार सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए । उनीहरुले रु आठ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यसैगरी बङ्गलादेशबाट सहभागी भएका लगानीकर्ताले रु दुई खर्बभन्दा बढी नेपालमा लगानी गर्ने विश्वास दिलाएका छन् ।
भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको लगानी गर्ने विश्वास दिलाएका छन् । जापान र बेलायतबाट सहभागी लगानीकर्ताले रु एक÷एक खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा श्रीलङ्का, मलेसियालगायतका देशका लगानीकर्ताले नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका छन् ।
नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता जनाएको बोर्डले जनाएको छ ।
अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढीको प्रतिवद्धता
सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेको थियो । तर, उत्तर छिमेकी चीन एक्लैले करिब साढे ८ खर्बको लगानी प्रतिबद्धता जनाएपछि करिब १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता आएको छ । यो अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढी हो ।
कुन देशबाट कति कम्पनी आए ?
उद्योग मन्त्रालयका अनुसार सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्यातिप्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता रह्यो । भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङ्कङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ–आठ, रुसबाट सात र संयुक्तराज्य अमेरिकाबाट छ वटा कम्पनीका प्रतिनिधिको सहभागिता रह्यो ।















प्रतिक्रिया