काठमाडौं, २० फागुन । देशभर भारी बहुमतले जितिरहेको नेकपा एमाले सम्बद्ध अनेरास्ववियु देशकै प्रतिष्ठित क्याम्पस इन्जिनियरिंग अध्ययन संस्थान पुल्चोक क्याम्पसमामा भने अन्तर्घातको शिकारमा परेको छ ।
संगठन दर्ताको क्रममा केपी ओली गुट र माधब नेपाल गुट भनेर दुई खेमामा विभाजित उक्त संगठन उम्मेदवारी चयनको क्रममा भने दुवै गुटलाई मिलाएर चुनाबमा गएको देखिन्थ्यो । सभापतिसहित ३ सदस्य ओली खेमालाई अनि सचिब, कोषाध्यक्षसहित बहुमत सदस्य माधव खेमालाई दिएर मैदानमा उत्रिएको उक्त संगठनको नतिजामा भने व्यापक अन्तर्घात देखिएको हो ।
माधव खेमाका सम्पूर्ण पदाधिकारीले जित्दा केपी खेमाका भने कसैले पनि जितेनन । विद्यार्थीमा लोकप्रिय हुनुभन्दा पनि अध्यक्षको लागि केन्द्रदेखि नेताका घर घरमा धाउने माधव खेमाका प्रबिण ढकालले टिकट नपाएपछि अन्तर्घात गरि क्रान्तिकारीका उम्मेदवार रोशन थापामगरलाई जिताएको क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका एक नेताले दाबी गरे ।
समानुपातिकतर्फ संगठनले अत्यधिक मत ५७० ल्याउदा अध्यक्षका उम्मेदवार सुदिप चालिसेले भने ४३५ मात्रै मत प्राप्त गरे जबकी सचिब र कोषाध्यक्षका उम्मेदवारले भने ६०० भन्दा बढी मत प्राप्त गरेका छन् ।
क्याम्पसबाट भर्खरै अध्ययन सकाएका क्याम्पसका पूर्व नेता देब शर्मासंग मिलेर असन्तुष्ट ढकालले आफ्नै उम्मेदवारलाई हराएको क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका कार्यकर्ता बताउँछन् ।
नतिजा घोषणा पश्चात अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवारले हारेपछि उक्त क्याम्पसमा आआफ्नै कार्यकर्ताबीच झगडामा उत्रेको देखिन्थ्यो भने केहि कार्यकर्तामा रुवाबासी चलेको थियो ।
यता क्रान्तिकारीका तर्फबाट सभापतिमा निर्वाचित रोशन थापामगरले आफूलाई अनेरास्ववियुका कुनै पक्षले सहयोग नगरेको दाबी गरेका छन् । उनले भने- ‘अनेरास्ववियुबाट मलाई कसैले सहयोग गरेको छैन् । म आफ्नै भोटमा जितेको हुँ ।’















प्रतिक्रिया