काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले स्थानीय निर्वाचनलाई पार्टीले अधिकतम उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा लामो उपचारपछि बिहीबार राति काठमाडौं आइपुगेका नेता खड्काले भने, ‘कांग्रेस स्थानीय निर्वाचनबाट भाग्नु हुँदैन । मुकाविला गर्नुपर्छ । आफ्ना उम्मेदवारहरूलाई जिताउनु पर्छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो स्वागतमा जम्मा भएका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘मेरो स्वस्थ्यमा धेरै सुधार आएको छ । अब सक्रिय रूपमा राजनीतिमा लाग्छु । तपाईहरूको साथ चाहिन्छ ।’
उनले गाउँमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बेला आएको बताए । खड्काले भने, ‘कांग्रेस गाउँमा बलियो भएकै कारण अहिलेसम्म बाँचेको छ । शीर्ष नेताहरूले यो कुरालाई भुल्नु हुँदैन । कार्यकर्ताको योगदानको कदर गर्ने बेला फेरि आएको छ ।’
उपचारका लागि नयाँदिल्ली गएका नेपाली कांग्रेसका नेता खड्का बिहीबार राति करीव साढे दश बजे काठमाडौं आइपुगेका हुन् ।
मर्गौला प्रत्यारोपणपछि खड्काले नयाँदिल्लीमा नियमित चेकजाँच गराउँदै आएका छन् । पारिवारिक स्रोतका अनुसार मर्गौलामा समस्या भएपछि खड्कालाई १५ दिन अगाडि नयाँदिल्ली लगिएको थियो ।
विमानस्थलमा नेता खड्कालाई कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
खड्काको स्वागतमा विमानस्थलमा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, महासमिति सदस्य रमेशजंग रायमाझी, कांग्रेस नेता मीनकृण्ण महर्जन, पूर्णबहादुर गुरूङ, युवा नेता महेश श्रेष्ठ लगायतका नेताहरू पुगेको एक सहभागीले जानकारी दिए ।











प्रतिक्रिया