३ कार्तिक २०८३, मंगलबार

सुडा खानेपानी आयोजना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । कञ्चनपुरको वेतकोट नगरपालिकामा सुडा सहरी खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद बहादुरसिंह थापाको विशेष पहलमा विहिबार राजधानीको तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गतको ढल निकास विभागमा सुडा सहरी खानेपानी उपभोक्ता संस्थासँग सो सम्झौता भएको हो ।

सम्झौता पत्रमा विभागका तर्फबाट आयोजना निर्देशक रामचन्द्र शाह, संस्थाका तर्फबाट अध्यक्ष थानेश्वरप्रसाद भट्ट र निर्माण व्यवसायी चन्द्रा एण्ड बसन्ता कम्पनीका सञ्चालक गणेश चन्दले हस्ताक्षर गरे ।

आयोजनाको अनुमानित बजेट ३७ करोड रुपैयाँ रहेको छ । ‘१८ महिनाभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको हो’, सुडा सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थानेश्वरप्रसाद भट्टले भने– ‘वेतकोट नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न यो आयोजना निर्माण गर्न लागिएको हो ।’

वेतकोट नगरपालिका वडा नम्बर ७, ८, ९ का जनता र भीमदत्त नगरपालिकाको वडा नम्बर १ शान्तिटोलका गरी २ हजार ३५२ घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आयोजनाको लक्ष्य रहेको छ ।

‘खानेपानीबाट बञ्चित वेतकोट नगरवासीले अब शुद्ध पिउने पाउने भए,’ संस्थाका सचिव जयदेव जोशीले हर्षित हुँदै भने– ‘वेतकोट–७ को गाउँजी र मुसेपानी साढे पाँच सय घनमिटर क्षमताको ट्यांकी निर्माण हुन्छ ।’

आयोजना निर्माणका लागि उपभोक्ता समितिका तर्फबाट ५ प्रतिशत, नेपाल सरकारका तर्फबाट ७० प्रतिशत र नगरविकास कोषको तर्फबाट ऋण सहयोगका रुपमा २५ प्रतिशत लगानी रहनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर तीनका सांसद बहादुरसिंह थापा, समाजसेवी कृष्णानन्द भट्ट, खानेपानी संस्थाका पूर्व जिएम कल्याण सिंह थापा, संस्थाका सचिव जयदेव जोशी लगायतको उपस्थिती थियो ।