५ मंसिर २०८३, शनिबार

रात परेपछि बालुवाटारमा पत्रकारसँग एकाएक किन जंगिए महन्थ ठाकुर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– विमल योगी

काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चाको संयुक्त बैठकमा मधेसवादी दलका नेताहरुले संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षमा बसेको बैठकमा सत्ता पक्षले ‘निर्वाचनपछि संशोधन गरौं’ भन्ने प्रस्तावलाई मोर्चाका नेताहरुले डाठै अस्वीकार समेत गरेका छन् ।

बालुवाटारमा पत्रकारहरुमाथि जंगिए महन्थ ठाकुर

बैठकबाट बाहिरिँदै गर्दा बालुवाटारमा मधेसी मोर्चाका प्रमुख नेता महन्थ ठाकुरलाई सञ्चारकर्मीले के भयो भन्दै घेरा हालिहाले ।

महन्थ बैठकबाट ७ बजे निस्किदा रात परिसकेको थियो । पत्रकारलाई जवाफ दिँदै ठाकुरले संशोधन विधेयक परिमार्जनसहित पारित नहुँदासम्म स्थानीय निर्वाचन हुन नदिने बताए । पत्रकारसँग आक्रोशित हुँदै भने– ‘चुनाव कुनै हालतमा हुन दिँदैनौ । हामीले भन्या जस्तोगरी संशोधन हुनुपर्छ । एउटा हातमा संविधान अर्काे हातमा बन्दुक देखाएर हामीलाई चुनाव लान खोज्ने ? त्यस्तो हामीले मान्छौं ?’

मोर्चाका अर्का नेता केशव झाले बैठकमा छलफल खासै सकारात्मक नभएको बताए । ‘उहाँहरुले तत्काल चुनाव गरौं । संशोधन पारित गर्न अहिले संख्या पनि पुग्दैन् भन्ने कुरा गर्नुभयो,’ उनले भने– ‘मधेसी मोर्चाले त्यो अस्वीकार गर्यो । सम्वाद छलफल जारी छ ।’

यता सत्तारुढ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले आजको सकारात्मक भएको बताइन् । उनले भनिन्– ‘छलफल जारी छ, सहमति नजिक नजिक पुग्यौं । धेरै राम्रो कुरा भयो । थप गृहकार्य गर्नुपर्ने भएको छ ।’