काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले बुधबारदेखि हेलिकप्टर प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
बुधबारदेखि लागु हुनेगरी आयोगले जारी गरेको निर्वाचन आचारसंहिताले अब मन्त्रीले पनि हेलिप्कटर चढ्न पाउने छैनन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बुधबारै मन्त्रीहरुलाई आयोगको कार्यालयमा बोलाएर आचारसंहित कडाईका साथ पालन गर्न निर्देशन समेत दिएका छन् । ‘चुनाव सम्पन्न नहुँदासम्म हेलिकप्टर प्रयोग नगर्नुस् र जिल्ला सदरमुकाम बाहिर राजनीतिक कार्यक्रममा पनि नजानुस्,’ यादवले मन्त्रीहरुलाई निर्देशन दिँदै भने– ‘आचारसंहित विपरित गए कारवाही गर्छाैं ।’
स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि आचारसंहिता मान्नैपर्ने भन्दै प्रमुख निर्वाचन आयुक्तले मन्त्रीहरुले यसमा सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।
बैठकमा सहभागी उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कृष्ण महराले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकार र क्याविनेटमा रहेका सबै मन्त्री प्रतिबद्ध रहेको बताउँदै आचारसंहिता कडाईका साथ पालना गरिने प्रतिबद्धता जनाए । उनीहरुले निर्वाचनका लागि आयोगलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताए ।












प्रतिक्रिया