३० आश्विन २०८३, शुक्रबार

शेरबहादुर देउवाः पहिले दरबारका दाहिना, अहिले भारतका भरिया ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समाचार टिप्पणी

२०६१ माघ १९ गते नेपाली राजनीतिको इतिहासमा कालो दिनका रुपमा लेखिएको छ । माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । संसद विघटन गरी दरबारलाई शासनसत्ता बुझाएका तत्कालिन शेरहादुर देउवालाई त्यसअघि ज्ञानेन्द्रले असक्षम प्रधानमन्त्री घोषणा गरेका थिए । तर, माघ १९ गते दोस्रोपटक उनलाई पदच्युत गरी ज्ञानेन्द्रले शासन हातमा लिए । र, आफ्नै नेतृत्वमा मन्त्रिपरिषद निर्माण गरे ।

देउवाले पटक–पटक सत्ता राजालाई सुम्पिने काम गरेका छन् । माघ १९ भन्दाअघि पनि उनले नेपाली कांग्रेस बहुमतमा रहेका बेला पनि ज्ञानेन्द्र सामु सत्ता बुझाएका थिए । जतिजति विग्रहहरु भएका छन्, उनकै पालामा भएका छन् । उनी पटक–पटक प्रधानमंत्री बने पनि विगतमा देशको हितमा कुनै राम्रो काम हुन नसकेको इतिहासले देखाउँछ ।

विवादास्पद निर्णयहरु गरेर विरोधको पात्र बन्ने मात्रै होइन्, माघ १९ निम्त्याउनुका मुख्य पात्र पनि उनी नै हुन् । उनले सत्ता दरबारमा बुझाएपछि उत्पन्न परिणामले देश अझै अस्तिरताको चंगुलबाट बाहिर निस्कन सकेको छैन । राजाको सहानुभूति लिन देउवाले सत्ता दरबारमा बुझाएपनि अन्यत्मा उनलाई असक्षम घोषणा गरिएको थियो ।

आफैले निर्वाचनको मिति घोषणा गरेर चुनाव गर्न नसकेका देउवाले सो मिति एक वर्ष पछि सारिदिएका थिए । त्यसपश्चात राजाले देउवालाई चुनाव गर्न नसक्ने हो भने राजीनामा दिन दवाब दिँदा उनले सरासर सत्ता राजालाई नै सुम्पिए । आफैले गरेको मितिमा चुनाव गर्न नसकेको भन्दै राजाले उनलाई असक्षम घोषणा गरेका हुन्, त्यतिबेला ।

सम्पूर्ण अधिकार हातमा लिएका राजाले आफूखुशी शासन गर्न थाले । त्यसैदिनबाटै नेपाली सञ्चारमाध्यममा समेत ‘सेन्सरसीप’ लगाइएको थियो । सेनाका मेजरहरु सम्पादकका रुपमा सम्पादन कक्षमा बसेर समाचार सम्पादन गर्ने गर्थे । फलस्वरुप २०६२–६३ मा जनआन्दोलन भयो ।
देउवाले सत्ता राजालाई बुझाएपछि अधिकार सम्पन्न भएका राजा जनताका सामू घुँडा टेक्न बाध्य भए । देशमा गणतन्त्र स्थापना भयो । देशबाट राजतन्त्रको विदाई भएपनि गणतन्त्र र लोकतन्त्रका नाममा देश ओरालोरित धकेलिँदै गएको छ ।

यो परिणाम देउवाले सत्ता राजाको हातमा बुझाएदेखिनै सुरु भएको हो । सायद तत्कालिन समयमा देउवाले सत्ता राजालाई नबुझाएर आफ्नै बुद्धि विवेकले असन्तुष्टलाई साथमा लिएर सरकार सञ्चालनको गरेको भए अहिले देशले यो परिणाम भोग्दैन थियो होला । राजाले ‘कू’ गर्ने अवसर पनि पाउँदैनन् थिए । जसलाई ‘शाही कु’ पनि भनिन्छ ।

तर, पछि शाही ‘कु’ नै राजालाई आफ्नो अवशान हुने मुख्य कारण बन्यो । तर, राजतन्त्रको अन्त्यपछि जनप्रतिनिधिहरुबाट संविधान निर्माणका लागि संविधान सभा निर्माण भयो । पहिलोपटक गठन भएको संविधान सभाले संविधान बनाउन सकेन । दोस्रो संविधान सभाबाट मात्रै संविधान निर्माण भयो । देशले लामो समयपछि संविधान पाएपनि पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन ।

लोकतन्त्रिक गणतन्त्र स्थापना हुँदा गर्ब गर्ने ठाउँ भएपनि प्राप्त उपलब्धि र योसँग गाँसिएका सबै प्रक्रियाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता पर्याप्त छ ।

सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूले संविधानसभामार्फत संविधान निर्माण गरिसकेका छन् । तर मुलुक राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सकिरहेको छैन ।

अहिले फेरि नयाँ ढंगले राजनीति अगाडि बढ्न खोज्दै छ । परिवर्तनका संवाहक भएको दाबी गर्ने राजनीतिक पार्टी राजालाई सत्ता हस्तान्तरण गर्ने पार्टीबीच अहिले सत्ता साझेदारी छ । अहिलेसंगै भएको अवस्थामा उनीहरुले पनि यस्तो परिस्थिति निर्माण हुनुमा जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? बर्तमान समस्याको समाधान गर्ने नैतिक जिम्मेवारी उनीहरुमा हुनुपर्छ कि पर्दैन ?

उनीहरू स्वयम् आफैले अघि सारेका नीति, विचार, कार्यक्रम र योजनाहरूलाई लत्याउँदंै अगाडि बढेको देखिँदैछ । सत्तामा पुग्न वा टिकिरहन, प्रधानमन्त्री, मन्त्री बन्न जे–जस्ता कामहरू गर्न पछि नपरेका उदाहरणहरू राजनीतिक नेतृत्व तहमै देखिँदैछन् । बाह्य शक्तिहरूको चाकरी गर्ने, उनीहरूको निर्देशनमा चल्ने, देश र जनताको हितविपरीत कामकुराहरू गर्न पछि नपर्ने कुरालाई प्रोत्साहित गरिँदैछ ।

दृढताका साथ एकताबद्ध भएर मात्रै राष्ट्रियता, मुलुकको सार्वभौमिकता, अखण्डता, सामाजिक सद्भाव र एकतालाई बलियो पार्न सकिन्छ । त्यसैले अव देउवाले बिगतमा आफूले गरेका गल्तीहरु सच्याउने मौका अहिले छ । उनले अहिले पाएको यो मौका गुमाउन हुँदैन । यदि अझै पनि परिस्थिति यस्तै रह्यो भने राजा फेरि सक्रिय नहोलान् भन्न सकिन्न । उनले गरेका कुरुरतालाई विर्सिन थालिसकेका जनता उनीप्रति नरम हुँदैछन् । यो कुरा राजनीति दलहरुलाई पनि ज्ञात भइसकेको कुरा हो । झन् प्रचण्डलाई हतियार बनाउँदै भारतको डिजाइनमा केपी ओलीको सरकार ढालेका देउवाले त यो कुरा राम्रोसँग बुझ्न जरुरी छ । हिजो उनी दरबारको इशारामा चल्थे, अहिले भारतको इशारामा चलेको देखिन थालेको छ । अबस्था यस्तै रहने हो भने फेरि एकपटक उनी नालायक घोषित हुनेछन् । भारतको इशारामा उनी प्रधानमन्त्री त बन्लान् तर जब भारतको स्वार्थपूर्ति गर्न त्यति सजिलो छैन् । नेपाली जनता अहिले फेरि जागरुक बनिसकेका छन् । हिजो दरबारले असक्षम घोषणा गरेझैं कुनैदिन भारतले पनि असक्षम घोषणा गरी रद्दीको टोकरीमा फाल्नेछ । त्यो दिन उनीसँग कोही पनि नहुन सक्छ । न पार्टी, न जनता । तसर्थ, देउवाले शक्ति केन्द्र होइन्, जनताको इच्छा बुझ् । जनताको भावना बुझ । जनादेश बमोजिम काम गर । पद र प्रतिष्ठामात्रै ठूलो कुरा होइन्, राजनीतिमा इमान्दारिता र नैतिकता ठूलो कुरा हो । इतिहासले देउवालाई एकपटक सत्बुद्धि देओस ।