– नरेश केसी
भैरहवा, १७ फागुन । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि उत्तर पश्चिममा रहेको सोनारेट चिल्हिया मैनहिया सडक खण्डमा पक्की पुल निर्माण हुने भएको छ ।
तिनाउ नदी माथि १ सय ५० मिटर लामो उक्त पुल आरसीसी ब्रिज प्रि स्ट्रेजको हुने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । ओपन फाउन्डेसन जग, ११ मिटर चौडाई, पुलको दुवैतर्फ डेढ मिटर क्यारिज वे, चार वटा स्पान रहेको उक्त पुलको शिलान्यास आपूर्तिमन्त्री दिपक बोहोराले मंगलबार विधिवत रुपमा गरेका छन् ।
कुल १६ करोड ७३ लाख ६७ हजार ८ सय ७६ रुपैयाँ ११ पैसाको लागतमा निर्माण हुने उक्त पुलले तिनाउ पारीका मैनहिया, छपिया, फर्साटिकर, अमुवा, मानमटेरिया गाविसका जनताहरुलाई सोनारेट हुँदै भैरहवा आउन सहज हुने अपेक्षा सहित पुल निर्माण गर्न लागिएको मन्त्री बोहोराले बताए ।
उनले भने “नेपाल सरकार जनताको सेवा सुविधाको लागि विकासका हरेक किसिमको पूर्वाधार निर्माणको लागि सँधै अग्रसर रहेको छ ।”
मन्त्री बोहोराले पुल, बाटाघाटा र बिजुलीमा सबै जनताको पहुँच पुर्याई उनीहरुलाई आत्मनिर्भर बनाउने पनि जनाए । स्थानीय सडक पुल निर्माण बजेट शीर्षकको ३३७१५७४ शीर्षक अन्र्तगत रही पुलको ठेक्कापट्टा भई मूल्याकंन प्रक्रियामा रहेको उक्त पुल २०७६ सालभित्र निर्माण सम्पन्न भईसक्ने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले सो अवसरमा बताए ।


















प्रतिक्रिया