– रबिना बोहरा
बागलुङ, १७ फागुन । बागलुङ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले आम नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारी भरपर्दो माध्यम भएको बताउनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको २ दिने लेखा समितिका संयोजक तथा सदस्यहरुको क्षमता अभिवृद्धि तालिम समापनका क्रममा बोल्दै स्थानीय विकास अधिकारी आचार्यले यस्तो बताउनु भएको हो ।
खर्च कटौती, आयआर्जनमा वृद्धि संगै उद्यमको विकास गरी रोजगारी सिर्जना मार्फत जनताको जीवन स्तरमा आमुल परिवर्तन ल्याउनका लागि सहकारीलाई व्यवस्थित रुपमा अगाडि बढाउनु पर्नेमा उहाँको जोड थियो ।
सहकारीका सदस्यहरु नाफामुखी भएका कारण कतिपय सहकारीहरुले यसको मर्म र भावन विपरित काम गरेको भन्ने गुनासो आइरहेको भन्दै उहाँले सहकारीमा वित्तीय तथा संस्थागत सुशासन कायम गर्नका लागि तालिम सहयोगी बन्ने धारणा राख्नुभयो ।
समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, तालिमका प्रशिक्षक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहकारीलाई व्यवस्थित गराउनका लागि लेखा समितिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
समापन कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, र सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’को सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीको विकासका लागि लेखा समितिको काम कर्तव्य र अधिकार लगायत लेखा समितिको भूमिका बढाउन आवश्यक क्रियाकलाप लगायतका विषयमा सहजीकरण गरिएको तालिममा विभिन्न २० वटा सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको संघका सञ्चालक अञ्जु जिसीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया