५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीको प्रस्तावपछि मधेसी मोर्चाका नेता बालुवाटारमा जर्याकजुरुक उठे, बैठक बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो प्रस्तावपछि मधेसी मोर्चाका शीर्ष नेताहरु बैठक छाडेर बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीको आह्वानमा आज विहान सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा बसेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रक्रिया अहिलेलाई थाती राखेर चुनावमा जाउ भनेपछि मोर्चाका नेताहरु जर्याकजुरुक उठेका थिए । यो प्रस्तावमा गम्भीर असहमति जनाउँदै मोर्चाका सबै नेताहरु बैठक छाडेर हिडेको बैठकमा सहभागी मोर्चाका एक नेताले दैनिक नेपाललाई बताए ।

बैठकमा उनीहरुले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोहोर्याएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावसँगै रिसाएका मोर्चा नेताहरुले मन्त्रिपरिषद् बैठकपछि सरकारको आह्वानमा कांग्रेस, माओवादी, राप्रपासहितको आज अपराह्न बस्ने बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको यो प्रस्तावपछि सरकारबाट समर्थन फिर्ता लिने कि नलिने र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे बिजुलीबजारमा अहिले मोर्चाको बैठक बसिरहेको छ ।

सकारात्मक छलफल भएको प्रधानमन्त्री सचिवालयको दाबी

यता प्रधानमन्त्रीको सचिवालयले भने बैठकमा सकारात्मक छलफल भएको दाबी गरेको छ । सचिवालयले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा कुराकानी भएको बताएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठकले छिटै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको जानकारी दिइन् ।