
काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी फागुन २२ देखि सञ्चालन गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको तयारी तीव्र पारेको छ ।
राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिन लागिएको अभियानमा देशभर १० हजार स्वयम्सेवकहरुलाई आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित गरिनेछ ।
शनिबार एमाले केन्द्रीय कार्यालय धुम्वाराहीमा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभियानको तयारी सन्दर्भमा भइरहेका कामको समीक्षा गरेको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार अभियानको तयारी अन्तर्गत सातवटै प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी र अन्य मातहतका कमिटीसहित जनसंगठनहरुका तहगत बैठकहरु सम्पन्न भएका छन् । सबै जिल्लामा अभियानका टोलीहरु निर्माण गरी घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण, स्वयम्सेवकको तयारी र प्रचार टिमको निर्माण, खाना तथा आवासको तयारीका कामहरु तीव्र गतिमा भइरहेको छ ।
अध्यक्ष ओलीसहित शीर्ष नेताहरु पार्टीका शुभचिन्तकका घरमा बस्ने
अभियानअन्तर्गत अध्यक्षसहितका शीर्ष नेताहरु पर्टीका शुभचिन्तकका घरमा बस्ने सचिव भट्टराईले बताए । जसअनुसार अभियानमा पार्टी अध्यक्ष, बरिष्ठ नेताहरु, केन्द्रीय नेताहरु, सासंदहरु सहितको एक हजार जनालाई अघि क्रमश जिल्लामा पार्टीका शुभचिन्तका घर–घरमा आवासको ब्यवस्था मिलाउनका लागि तयारी भइरहेको छ । स्थायी टीममा स्वयमसेवक, स्वथ्यकर्मी, कलाकारहरु, सञ्चार टिम पनि स्थायी रुपमा रहने छन् ।
अभियानमा १० हजार स्वयम्सेवक परिचालित
अभियानअन्तर्गत सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयम्सेवको व्यवस्था गरिनेछ । यो अभियानमा देशभर १० हजार स्वयम्सेवकहरुलाई आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित गरिनेछ । सुरक्षा र प्रशासनिक निकायहरुसँग केन्द्र र स्थानीय तहबाट समन्वय गरिनेछ । यसका लागि जिम्मेवारी समेत तोकिएको छ ।
अभियानमा सम्पूर्ण दलको सहयोगको अपेक्षा
यो अभियान राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालित गरिएको हुनाले साथै संविधान कार्यन्वयन, सबै तहको निर्वाचनको सुनिश्चितता गर्दै मुलुकको समृद्धिको दिशामा ठोस योगदानसमेत गर्ने भएकाले मेची–महाकाली राष्ट्रिय अभियानमा सबै राजनीतिक दलहरु, संघ सस्थाहरु, नागरिक समाज साथै आमजनसमुदायबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको एमालेले जनाएको छ ।












प्रतिक्रिया