काठमाडौं, १३ फागुन । निर्वाचन आयोगले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन अवधिमा शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
सुरक्षा निकायका प्रतिनिधीहरूसँग शुक्रबार भएको छलफलका क्रममा आयोगले सुरक्षाको विशेष व्यवस्था गर्न गराउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
आयोगले कानून बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंडन, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन माग गरेको छ ।
कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र विक्रि वितरण कार्यमा पूर्ण बन्देज लगाउन आयोगले आग्रह गरेको छ ।
केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को व्यवस्था बमोजिम निर्वाचन विथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी आवश्यकताअनुसार नियन्त्रण गर्न समेत निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।











प्रतिक्रिया