काठमाडौं, १२ फागुन । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।
यसैक्रममा बिहीबार (आज) नेपाली कांग्रेस रसुवा जिल्ला कार्य समितिका पूर्व सदस्य सीता अधिकारी एमाले प्रवेश गरेकी छिन् । महिला संघ रसुवाकी सचिवसमेत रहेकी अधिकारीलाई पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा एमाले महासचिव ईश्वर पोखरेलले खादा र अविर लगाएर पार्टी प्रवेश गराए ।
नवप्रवेशी अधिकारीले पार्टी प्रवेश गर्दै एमाले राष्ट्रियताको पक्षमा उँभिएको र एमालेले लिएका अडान राष्ट्रहितमा भएकाले प्रवेश गरेको बताइन् ।
अधिकारीलाई पार्टी प्रवेश गराउदै महासचिव पोखरेलले देशैभरी एमालेमा प्रवेशको लहर चलेको र यो प्रक्रिया पार्टीले सञ्चालन गर्न लागेको मेची-महाकाली अभियानसम्म जारी रहने बताए । ‘त्यतिबेलासम्म विभिन्न पार्टीका हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने छन्,’ उनले भने, ‘मुलुक अब एमालेमय हुनेछ ।’
पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु ठाकुर गैरे, सुजिता शाक्य, माधव अर्याल, विजय गुरुङ, रसुवा जिल्लाका सांसद जर्नादन ढकाल जिल्ला कमिटी रसुवाका अध्यक्ष कन्र्याल तामाङ्गसहित नेता उपस्थित थिए ।












प्रतिक्रिया