काठमाडौं, १२ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन भन्दा अघि नै संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने, ‘बैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ, त्यो भन्दा पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यसमा कुनै दुईमत छैन, कसैले शंका नगरे पनि हुन्छ ।’
मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावलाई छलफल गर्न दिने भनिसकेकोले आजैबाट संशोधन प्रस्तावमाथि छलफल सुरु हुने बताए । उनले भने, ‘सकेसम्म सरकारले ल्याएकै प्रस्ताव पारित गर्ने प्रयत्न हुन्छ, यदि भएन भने परिमार्जनसहित भएपनि प्रस्ताव पारित हुन्छ ।’
उनले मधेशी मोर्चाले भनेजस्तै पनि नहुने र निर्वाचनको वातावरण बनाउनको लागि एमाले तयार हुनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको संख्या बढाउने भनेर सरकारले भनिसकेकाले अब विवाद गर्न नहुने बताए । उनले निर्वाचन देश र जनताको आवश्यकत्ता भएकोले यसलाई सफल बनाउनको लागि सबै दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
मन्त्री नायकले थपे, ‘देश र जनतालाई उत्सामा ल्याउनको लागि पनि चुनाव आवश्यक छ, संविधान कार्यान्वयन गर्न तीनवटै तहको निर्वाचन निर्धारित मितिभित्रै सम्पन्न गर्नुपर्छ ।’












प्रतिक्रिया