३ कार्तिक २०८३, मंगलबार

सुधारिएको चुल्होतर्फ शिवपुरका महिला आकर्षित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १२ फागुन । कपिलवस्तुको शिवपुरका महिलाहरु सुधारिएको चुल्होतर्फ आकर्षित बनेका छन् । परम्परागत चुल्होबाट समस्या झेल्दै आएका महिलाहरु अहिले गाउँघरलाई धुँवारहित बनाउने अभियानमा जुटेका हुन् ।

शिवपुरस्थित श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाहरु आफूले सिकेका ज्ञानसीपलाई तालिमको माध्यमबाट हस्तान्तरण गर्ने कार्यमा जुटेका छन् ।

फागुन ९ गतेदेखि ११ गतेसम्म तीन दिने प्रयोगात्मक अभ्यासबाट सहकारीका ३ जना सदस्यले अन्य २० जनालाई सिकाएका छन् । तीनदिने तालिमपश्चात समापन समारोहमा बोल्दै प्रशिक्षक राधा खडकाले सहकारीको माध्यमबाट आफूले सिकेको ज्ञानसीपलाई अन्य सदस्यहरुमा बाँडेको बताउनुभयो । उहाँसहित सहकारीका सदस्य सुशिला गिरी र माया वि.क. समेत आफूमा भएको ज्ञानसीपलाई अन्य सदस्यहरुलाई बाँड्न पाउँदा खुशी लागेका बताउनुभयो ।

तीनदिने प्रयोगात्मक अभ्यासबाट सुधारिएको चुल्हो बनाउने सीप सिकेकी रुपा भण्डारीले आफ्नो घरमा अब आफैंले धुवाँरहित चुल्हो निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँजस्तै गीता बेल्बासे, फुलमती थारु लगायतले सिकेको सीपलाई व्यवहारमा अवलम्बन गर्ने र गाउँलाई नै धुँवारहित बनाउन अन्यमा सीप हस्तान्तर समेत गर्ने बताएका थिए ।

यहाँका अधिकांश घरमा खाना पकाउन दाउराबाट परम्परागत चुल्होको प्रयोग गरिएको पाइन्छ । परम्परागत चुल्होबाट खाना पकाउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पुगेकाले गाउँलाई नै धुवाँरहित बनाउन सहकारीमार्फत सुधारिएको चुल्होतर्फ जोड दिइएको श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला खनालले बताउनुभयो ।

सुधारिएको चुल्होमा खाना पकाउँदा दाउरा कम लाग्ने, धुवाँ कम आउने, खाना छिट्टै पाक्ने र स्वास्थ्यको दृष्टिले पनि उपयुक्त हुने भएकाले चुल्हो दिनुभन्दा सीप सिकाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।

समापन समारोहका प्रमुख अतिथि रहेका शिवराज नगरपालिकाका प्राविधिक ताराप्रसाद भण्डारीले सहकारीले चालेको अभियान निकै सह्रानीय रहेको बताउँदै सुधारिएको चुल्होको उपयोगिताबारे प्रकाश पार्नुभएको थियो ।

सुधारिएको चुल्हो वातावरणीय दृष्टिकोणले पनि निकै लाभदायक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा समाजसेवी एवं सहकारीका सल्लाहकार जगतबहादुर जि.सी.ले अहिलेको परिवेशमा सुधारिएको चुल्होको महत्व बढ्दै गएको बताउँदै गाउँलाई धुँवारहित बनाउन सहकारीले चालेको कदम सकारात्मक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा सगरमाथा वेल्फेयर सोसाइटीका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले जीवनोपयोगी सीपले गाउँलाई धुँवारहित बनाउन ठूलो मदत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले विगत ५ वर्षदेखि आफूले सुधारिएको चुल्होमा खाना पकाउँदै आएको बताउँदै यो कम खर्चिलो र निकै उपयोगी रहेको अनुभव सुनाउनुभयो ।

साथै सबैलाई धुवाँरहित चुल्होको प्रयोग गर्न समेत उहाँले सुझाव दिनुभयो । कार्यक्रममा ज्ञानीराम पुरीले समेत सिकेको सीपलाई व्यवहारमा लागू गर्न सुझाव सहित शुभकामना दिनुभएको थियो ।