
काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसले प्रमुख राजनीतिक शक्तिहरूबीच सहमति गरेर छिटोभन्दा छिटो स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्ने उल्लेख गरेको छ ।
सिंहदरबारस्थिट आफ्नै संसदीय दलको कार्यालयमा आइतबार बसेको पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक जेठ महिनाभित्र स्थानीय निर्वाचन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसहमतिअनुसार निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले संविधान जारी गर्ने बेला प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी मिले जस्तै निर्वाचनका लागि पनि पुनः मिलेर जानुपर्नेमा धारणा राखेका थिए । ‘कम्तिमा तीन ठूला दलहरू मिल्नुपर्छ धारणा नेताहरूले राखेका छन्’, स्रोतले भन्यो, ‘कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मुलुकलाई निकास दिइ संविधान कार्यान्वयन गर्नुपर्छ ।’
प्रमुख विपक्षी दल एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गर्ने र असन्तुष्ट रहेको मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउने विषयमा नेताहरूले बैठकमा धारणा राखेका थिए । त्यसका लागि कांग्रेसले सम्वाद गर्ने सहमति कायम गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरूसँग सम्वाद गरेको कांग्रेसले सो विषयको पनि समीक्षा गरेको थियो ।











प्रतिक्रिया