सिरहा, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन भन्दा अगाडि नै मधेसका माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिरहाको लहानमा श्रीमद् भागवत महापूराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मिति घोषणा गरेपनि निर्वाचन तीन महिनापछि हुने र उक्त समयभित्रै मधेसी मोर्चाको सम्पूर्ण माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले निर्वाचन अगाडी नै गाउँपालिका वा स्थानीय तहको संख्या बृद्धि गर्ने पनि बताए । राज्य पुनर्संरचनाको विवाद मिलाउन संघीय आयोग गठन गरेर अगाडी बढ्ने उनको भनाई थियो ।
उनले देशमा अतिवादले टाउको उठाउन थालेकोमा चिन्ता व्यक्त गर्दै भने– ‘मधेस देश अलग गर्नुपर्छ भन्ने एउटा र एक मात्र समुदाय तथा वर्ग विशेषको उन्नती देख्ने अर्को अतिवाद देखा परेको छ । त्यसैले अतिवादविरुद्ध हामीले लाग्नैपर्छ ।’
शान्तिका लागि अहिले निकै पेचिलो लडाई लडिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने– ‘मधेसी, जनजाती, मुस्लिम लगायतका सबै समुदायको हक र अधिकारका लागि पेचिलो लडाइ जित्नैपर्छ । हामीले लडाइ जित्न नसके देश ठूलो भुमरीमा फस्नेछ ।’












प्रतिक्रिया