नेपाली काँग्रेसको समर्थनमा अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार छ । चैत्र मसान्तसम्म स्थानीय निर्वाच गरेर बैशाखमा देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा सरकार बनेको थियो ।
तर, प्रचण्ड सरकारले सोही सहमति लत्याएको छ । अब सहमतिको कुनै अर्थ देखिँदैन । निर्वाचनको मितिनै घोषणा नगरी बैशाखमा चुनाव गर्ने प्रतिबद्धता मात्रै जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले काम गर्न नसकेको आरोप लगाइरहेको छ । यसै विषयमा दैनिक नेपालले नेकपा (एमाले) का केन्द्रीय सदस्य, पर्यटन विभाग प्रमुख एवं प्रचार विभाग उप–प्रमुख सुर्य थापासँग कुराकानी गरेको छः
सरकार पूर्णरुपमा असफल भइसक्यो
विभिन्न लोकप्रिय कार्यक्रम सहित अगाडि बढिरहेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई माओबादी केन्द्र र नेपाली काँग्रेस मिलेर ढलाए । मिलेर सरकार चलाउने समहति पनि गरे । त्यसबेला चैत्र मसान्तभित्रै स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता समेत जनाए । तर, अहिले बैशाखमा पनि चुनाव हुन्छ कि हुँदैन भन्ने निश्चित भएको छैन । बैशाखमा चुनाव गर्नका लागि तयारी गर्न निर्देशन दिँदै निर्वाचन आयोगलाई काइते पत्र मात्रै पठाएको छ । तर, मिति घोषणा हुन सकेको छैन । अन्य कामहरु पनि लथालिङ्ग नै छन् ।
विभिन्न कार्यालयलाई भर्ती केन्द्र बनाइएको छ । पुनः निर्माण प्राधिकरणको नेतृत्व बदलेर आफ्नो मान्छे भर्ती गर्ने काम भयो । बाह्य शक्तिको भरमा सरकार अडेको छ । यसरी संविधान कार्यान्वयनका दृष्टिले सरकार असफल मात्रै नभई कुनै गतिनै लिन नसकेर पतन हुन लागिरहेको छ । यसले मुलुकलाई झन दुर्गतिर धकेल्दैछ ।
कथित ‘सेलिब्रेटी’ सेलरोटी भए
यसअघि निकै चर्चामा हरेका सेलिब्रटीहरु पनि अहिले काम गर्न नसकेर सेलरोटी जस्ता भएका छन् । कसैलै आफ्नो अस्थित्व कायम गर्ने गरी काम गर्न सकेनन् । एउटा मात्रै राम्रो काम गरेको छ, त्यो हो काठमाडौंमा लोडसेडिङ घटाउने । त्यो बाहेक अन्य कुनै पनि काम सरकारले गर्न सकेको छैन । लोडसेडिङ घटाउने अघिल्लो सरकारको कार्ययोजनाकै आधारमा यो सम्भव भएको हो ।
प्रचण्ड सरकारले बैशाख देख्न पाउँदैन
पहिले पनि सरकार निर्माण गर्दा स्वर्गीय सुशील कोइराला र केपी ओलीबीच सहमति भएको थियो । त्यो बेला कोइराला प्रधानमन्त्री बन्नुभयो । तर, पछिल्लोपटक ओली प्रधानमन्त्रीमा उठ्दा कोइराला पनि प्रधामन्त्रीको उम्मेदवार बन्नुभयो ।
यद्यपी, प्रचण्डको समर्थनमा अर्को गठनबन्धन बनेर ओली प्रधानमन्त्री बन्नुभयो । तर, त्यही सरकार ढाल्न देउवासँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । यो सरकार बनाउने र ढाल्ने खेल भइरहेको छ । यस्तै, यो सहमतिको पनि कुनै भर छैन ।
राष्ट्रिय राजनीतिमा स्वतन्त्रताका साथ एमाले नेतृत्वको सरकार अघि बढिरहेको थियो । तर, दुर्भाग्य एक्कासी ट्र्याक परिवर्तन गरियो । प्रचण्ड र देउवा मिलेर सरकार ढान्नुभयो । केही सहमति गरेर प्रचण्ड नेतृत्वमा सरकार गठन गरियो । जसमा चैत्रभित्रै स्थानीय निर्वाचन सम्पन्न गर्ने र बैशाखमा देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति पनि भयो ।
तर, सहमति अनुसार हुन सकेन । चैत्र मसान्त भित्र चुनाव नहुने भएपछि प्रचण्ड सरकार धरापमा परेको छ । बैशाखमा पनि चुनाव हुँदैनकी भन्ने आशंका पैदा भइसकेको अवस्था छ । स्थानीय निर्वाचन गरेर देउवालाई सरकार हस्तान्तरण गर्ने भनेको प्रचण्डको आयु अब छोटिदै गएको छ । चैत्रमा निर्वाचन नहुने निश्चित भएपछि देउवालेनै प्रचण्ड सरकारको दिन गन्ती सुरु गरिसकेका छन् ।
पटक–पटक सत्ताको स्वाद चाखिसकेका देउवा चैत्र महिना सकिने वित्तिकै सत्ता परिवर्तनको खेलमा लाग्नुहुनेछ । देउवालाई अलमल्याएर सरकारको आयु लम्ल्याउँछु भन्ने मनसाय प्रचण्डको पनि हुन सक्छ । तर, सत्ता प्राप्तिका लागि बर्जुवाहरु कति निर्मम हुन्छन् भन्ने प्रचण्डले बैशाख लागेपछि थाहा पाउनुहुनेछ । उहाँले आँसुका नुनिला ढिका पिउनुपर्ने स्थिति आउँछ ।
एउटै मितिमा तीन वटा तहको निर्वाचन
एउटै मितिमा तीन वटा तहको निर्वाचन गरिनुपर्छ । स्थानीय तह, प्रदेश र संघीय स्तरमा एकसाथ निर्वाचित जनप्रतिनिधिहरु बहाल गरिनुपर्छ । यसो गर्दा एउटै मितिको निर्वाचनबाट एकतिहाई मात्रै बजेटमा तीन वटा निर्वाचन सम्पन्न हुन सक्छन् । मितव्ययिताका हिसाबले पनि यसो गर्न जरुरी छ ।
देउवाको विकल्प पनि खोजिन सक्छ
प्रचण्डसँगको सहमति कार्यान्वयन होस् वा नहोस्, देउवाले बैशाख लागेपछि आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत पक्कै गर्नुहुनेछ । त्यसक्रममा सकेसम्म देउवा प्रचण्डलाई समर्थन गर्न लगाएर आफू प्रधानन्त्री बन्ने प्रयासमा लाग्नुहुनेछ ।
यदि देउवाले प्रचण्डको साथ पाउन सक्नुभएन भने देउवाको विकल्पमा पनि अर्को गठबन्धन बन्छ । त्यो बैशाखमै हुन्छ ।
एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन
एमाले प्रमुख प्रतिपक्ष दल हो । अहिले एमाले सरकार परिवर्तनको खेलमा पनि लाग्दैन । स्थानीय निर्वाचन गरोस् भन्ने हामी चाहन्छौं । तर, सरकारको कानमा हावा लाग्न सकेको छैन ।
हामी अब जनताको विचमा जान्छौं । जनतालाई सचेत र जागरुक बनाउनेतिर लाग्छौं । सरकारको भण्डाफोर गर्ने, फागुन २१ गतेदेखि चैत्र ५ गतेसम्म १५ दिने मेची–महाकाली अभियानमा जाँदैछौं । तीन दर्जनभन्दा बढी सभा गर्छाैं । जनपरिचालन गर्छौं । हुलाकी राजमार्गलाई केन्द्रीत गर्छौ ।
जनदवाव मार्फत निर्वाचन सम्पन्न गर्ने विन्दुसम्म पु¥याएर मात्रै हामी निस्किन्छौं । संविधान कार्यान्वयनको बाटोमा सरकारलाई डो¥याउने काम एमालले गर्छ । प्रमुख प्रतिपक्षले आवश्यक परेको खण्डमा सरकारका कामको विरोध गर्ने हो । सही बाटोमा डोर्याउने हो । अहिलेको लागि नेकपा एमालेका प्रमुख कामनै त्यही हो ।
हरेक चुनावको सामना गरेर बर्चस्व
सत्ता साझेदार दलले नेकपा (एमाले) लाई स्थानीय निर्वाचन गर्न नचाहिरको आरोप लगाइरहेको छ । तर, हामी तीन तहकै निर्वाचन छिटो भन्दा छिटो होस् भन्ने चाहन्छौं । हाम्रो सरकारले गत कार्तिक–मंसिरमा स्थानीय तहको, यो बैशाख–जेठमा प्रदेश तहको र कार्तिक–मंसिरमा संघीय तहको निर्वाचनको कार्ययोजना तयार पारेर संसदलाई जानकारी समेत गराईसकेको थियो ।
तर, त्यो गर्न नदिएर परिस्थिति विथाल्ने काम भयो । त्यसको विपरित चैत्र मसान्त सारियो तर त्यो पनि सम्भव भएन । अझै पनि सरकारले छिटो भन्दा छिटो चुनावको मिति घोषणा गरोस् र चुनावमा जाऔं भन्ने पक्षमा एमाले छ । हामी सबै तहका चुनावको सामना गर्न तयार छौं । सबै तहमा हामी जित हाँसिल गर्छौ पनि ।
यदि अझै पनि सरकारले एमालेलाई निर्वाचन हुने खेलमा लागेको आरोप लगाउँछ भने एक पटक चुनावको मिति घोषणा गरेर परिक्षण गरि हेरोस् ।















प्रतिक्रिया