४ मंसिर २०८३, शुक्रबार

कमल थापालाई समर्थन गर्दा यसरी घेराबन्दीमा परे लोहनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । महाधिवेशनको संघारमा देशभरका प्रतिनिधिको भावना र प्रजातान्त्रिक मूल्यमान्यता विपरित चारजना नेताले बन्द कोठामा बसेर नेतृत्वमा सहमति गरेको भन्दै राप्रपाका नेताकार्यकर्ता आक्रोशित बनेका छन् ।

महाधिवेशनको दुई दिनअघि बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कमल थापालाई अध्यक्ष र अर्का प्रत्यासी डा. प्रकाशचन्द्र लोहनीलाई निर्देशन समितिको सभापति बन्ने गरी नेताहरुबीच सर्वसम्मती बनेको थियो । नेताहरुबीच सहमति भएको १२ घण्टा बित्न नपाउँदै नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुले शीर्षनेताहरु आफैले प्रजातान्त्रिक विधि विपरित गइ निर्णय गरेको भन्दै तुरुन्तै निर्णय सच्चाएर प्रजातान्त्रिक परिपाटीमा महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । चारजना नेताको निर्णयलाई २४ घण्टा भित्र नसच्याइए महाधिवेशन नै विथोल्ने भन्दै कार्यकर्ता आक्रोशित बनेका हुन् ।

चारजना नेताको तमाम कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै विशेषतः संस्थापन राप्रपाका कार्यकर्ता रुष्ट बनेका छन् । हिजो बेलुकी सर्वसम्मति गर्ने निर्णयभए लगत्तै आक्रोशित कार्यकर्ता डा. लोहनीको घरमा जम्मा भएका छन् । उनीहरुले तत्काल निर्णयबाट हट्न डा. लोहनीलाई दबाब दिएका छन् ।

उनीहरुले डा. लोहनी लगायत संस्थापनका नेताहरुले कमल थापासँग आत्मसमर्पण गरेको भन्दै तीव्र विरोध गरेका छन् । उनीहरुले तत्काल निर्णय सच्चाएर प्रजातान्त्रिक विधिमा पार्टीको नेतृत्व चयन गर्न भन्दै हस्ताक्षर संकलन गरेका छन् । बिहानैदेखि डा. लोहनीको घरमा पुगेका महाधिवेशन प्रतिनिधिले चर्को विरोध गरेपछि डा. लोहनीले पुनर्विचार गर्ने मनस्थिति बनाएको उनीनिकट एक नेताले बताए ।

संस्थापनबाट एकजनामात्र उम्मेद्वार हुने भएपछि आफ्नो पक्षको नेतृत्व हुने आंकलन गरेका संस्थापनका कार्यकर्ताले राप्रपा नेता पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र सुनिल थापाविरुद्ध नाराबाजी समेत गरेका छन् । भोलिदेखि सुरु हुने महाधिवेशनको पूर्वसन्ध्यामा उत्पन्न आक्रोशले नेताहरुबीच हिजो बेलुका भएको सहमति उल्टिने आशंका पैदा भएको छ ।