१ कार्तिक २०८३, शनिबार

‘घरेलु कामदारमा महिलाहरूलाई विदेश पठाउनै हुँदैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– प्रज्ञान न्यौपाने, वैदेशिक रोजगार व्यवसाय

वैदेशिक रोजगार व्यवसायमा संलग्न युवा व्यवसायी प्रज्ञान न्यौपानेले वैदेशिक रोजगारीको व्यवासयलाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने अभियानमा छन् । धेरै आलोचना र बिबादबाट गुज्रिएको यो व्यवसायलाई एकै पटक सुधार गर्न सकिँदैन भन्ने उनले पनि बुझेका छन् । अस्थिर सरकार, छिटोछिटो फेरिने श्रम मन्त्री, श्रम विभागका कर्मचारीको गलत आचरण आदिका कारण वैदेशिक रोजगारीलाई बदनाम गराउन भूमिका खेलेको बुझाइ उनको छ । सरकारले समय सापेक्ष कानून र नियम ल्याउन नसक्दा पनि यो क्षेत्रमा समस्याहरू आइरहेको उनले बताए । सरकारले गरेका निर्णयलाई वैदेशिक रोजगार व्यवसायीहरूले लागू गर्न नखोजेका पनि होइनन् । तर, राज्यका कर्मचारी प्रशासनबाट हुने गरेका असहयोग तथा ‘सौता’को व्यवहारबाट व्यवसायीहरू पीडित छन् । रोजगारीमा जान चाहने व्यक्तिलाई ठग्ने गरेको गुनासो होस् वा तोकेको भन्दा धेरै रकम लिएको यस्तो थुप्रै गुनासाहरू छन् । ती गुनासाहरूसँग परिचित वैदेशिक रोजगार व्यवसायी एवम् लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :

० वैदेशिक रोजगारको व्यवासय झन् बद्नाम हुँदै गइरहेको छ किन होला ?

– तपाईहरूलाई त्यस्तो लागेको होला । पहिलाको भन्दा धेरै सुधार भएको छ । शुरुवाती दिनमा जसरी बैदेशिक रोजगार बद्नाम थियो, अहिले छैन । हामी व्यवसायी पनि सचेत छौँ । केही व्यवसायीका कारण समस्या आएको हो । सरकारले पनि यसलाई ध्यान दिनुपर्छ । व्यवसाय बद्नाम छैन । काम गर्दै जाँदा एकआध विषय हुनु स्वभाविक हो । त्यसैलाई लिएर समग्र व्यवसायलाई बद्नाम भन्न पाइँदैन ।

० विदेश पठाउने नाममा धेरै ठगीका कुरा पनि आइरहन्छन् । तपाईहरूले कसरी मिलाउनु हुन्छ ?

– केही कुरा काम गर्दै जाँदा विग्रने हुन्छन् । समस्या आउँछ । त्यसलाई ऐन र कानूनअनुसार मिलाउनु पर्छ । एउटा गाउँको गरिव जनतालाई ठगेर हामीलाई राम्रो हुँदैन । उनसको पनि घरमा बालबच्चा हुन्छ । व्यवसायी सबै ठग छैनन् । इमान्दारिताका साथ काम गरिरहेका छन् । केही समस्या आउँदा पीडित पक्षलाई सरोकारवालासँग राखेर सकेसम्म न्याय दिने गरेका छौँ । सरकारी निकायहरू पनि छन् । चित्त नबुझे न्यायका लागि लड्न ठाउँ पनि छन् ।

० वैदेशिक रोजगार व्यवसायीहरूले तोकेको भन्दै धेरै रकम उठाएर मोजमस्ती गर्छन् भन्ने गुनासो पनि छ नि ?

– मोजमस्ती वा धेरै रकम उठाएको विषय मलाई पनि धेरै थाहा छैन । व्यवसाय गर्न बसेको व्यक्तिले राज्यले तोकेको केही निश्चित मुनाफा लिन्छ नै । होला कसैले धेरै पैसा पनि उठायो होला । हामीले पनि सुनेका छौँ, त्यस्ता गुनासाहरू । रह्यो कुरा मोजमस्तीको त्यो व्यक्तिको कुरा हो । कसले के गर्छ त्यो व्यक्तिगत कुरा मलाई थाहा छैन ।

० रोजगारीमा विदेश पठाउँदा तपाईले पनि तोकिएभन्दा धेरै पैसा उठाउनु भएको छ ?

– छैन । रोजगारमा जाने व्यक्तिसँग धेरै पैसा लिने गरेका छैनौँ । एक त म राजनीति गर्ने व्यक्ति पनि हुँ । मेरो मेनपावरमा मेरै गृह जिल्लाका धेरै व्यक्ति आउँछन् । चिनजानका व्यक्ति आउँछन् । उनीहरूसँग तोकिएको भन्दा धेरै रकम उठाउने कुरै हुँदैन । अहिलेको समयमा ठग्न सकिँदैन । इन्टरनेटले धेरैलाई अगाडि ल्याइदिएको पनि छ । कामदारहरूले इन्टरनेटको सहायताले धेरै कुरा पहिला नै बुझिसकेका हुन्छन् ।

० दश हजारमा रोजगारीमा पठाउने कुरा कता पुगेको छ ?

– सरकारले त्यसलाई खासै अनुगमन गर्न सकेको छैन । कसै–कसैले दश हजारमा पठाएका पनि छन् । तर, दश हजारमा अर्थात निःशुल्क भिसा र टिकटको कुरा खासै व्यवहारमा लागू भएको जस्तो मलाई लाग्दैन । हामीले भने सरकारको निर्देशनलाई कार्यान्वयन गरेका छौँ । विश्वास लाग्दैन भने आएर हाम्रो कागजपत्र हेरे हुन्छ ।

० सबैले कागजपत्र हेरौँ भन्छन् । तर निःशुल्क भिसा र टिकटको रकम एक लाखसम्म लिएको गुनासो छ ?

– होइन लिएका पनि होलान । लिएकै छैनन् त मैले पनि भनेको छैन नि ? सरकारले यसलाई नियमन गर्नु पर्‍यो नि । श्रम मन्त्रालय र श्रम विभाग सुतेर बसेपछि दुःख पाउने त जनता नै हुन् । यसलाई राज्यले नै विशेष ध्यान दिनुपर्छ ।

० गल्फ मुलुकहरूमा आर्थिकमन्दीले कामदारहरू समस्यामा परेका कुरा आइरहेका छन् हो र ?

– त्यस्तो समस्या आइसकेको छैन । भविष्यमा आयो भने अलग कुरा हो । अहिले हाम्रो देशबाट गएका कामदारहरूलाई समस्या छैन । तोकेको कम्पनीमा गएर इमान्दारिताका साथ काम गर्नेहरूले राम्रो कमाइ गरिरहेका छन् । कसैले हल्ला फिजाएको कुराको पछाडि लाग्नु हुँदैन । डराउनु पर्दैन । त्यस्तो समस्या आयो भने हाम्रो मुलुकको राजदूतावास सम्बिन्धत देशहरूमा छन् । त्यसले उद्दार र सहयोग गर्छ । डराउनु पर्दैन ।

० नेपालबाट पठाउँदा भनिएको तलबसम्बन्धित देशमा पुगेपछि कामदारले पाउँदैनन किन होला ?

– नेपालमा भएको एग्रिमेन्टअनुसार तलब कामदारलाई दिनै पर्छ । यदि तोकिएको तलब कसैले दिँदैन भने त्यो बेइमानी हो । गलत कुरा हो । एउटा प्राविधिक समस्या भने पक्कै छ । हाम्रो सरकारले रोजगारीमा जाने देशको श्रम कानूनको कुरै नबुझेर नियम लागू गर्दा भने केही समस्या देखिएको हो । होइन भने मेनपावर व्यवासयीहरूले रोजगारीमा जाने कामदारलाई सबै कुरा विदेश जानुभन्दा पहिले भनेका हुन्छन् । होइन भने कामदार फर्किएर आयो भने त्यसको क्षतिपूर्ति दिनुपर्छ । व्यवसाय नै चौपट हुन्छ ।

० महिलाहरू घरेलु कामदारमा जान पाउँछन् कि पाउँदैनन् ?

– महिला घरेलु कामदारका लागि अलिक कसिलो बनाइएको छ । जान पाउँछन् । तर, कडा कानून व्यवस्था गरिएको छ । मेनपावर व्यवसायीहरूले सकेसम्म घरेलु कामदारका रुपमा महिलाहरूलाई पठाउन हुँदैन भनेका छौँ । घरेलु कामदारका रुपमा जाने महिलालाई धेरै समस्या छ । दुःख छ । हामीले त्यो कुरा बुझेका छौँ । तर, सरकारले नै त्यसलाई धेरै वास्ता गरेको छैन ।

० महिला कामदारहरू कसरी र केमा काम गर्न जाँदा राम्रो हुन्छ ?

– महिला कामदारहरूका लागि कम्पनीमार्फत रोजगारीमा जानु नै उपयुक्त हुन्छ । घरेलु कामदारका रुपमा नजान मेरो सल्लाह छ । कम्पनीमा जाँदा पनि कामको प्रकृति पहिला नै बुझेर जानुपर्छ । कानूनी प्रक्रिया पूरा गरेर काठमाडौंको त्रिभुवन विमानस्थलबाट विमान चढेर जानुपर्छ । भारतको बाटो वा अन्यत्रबाट कसैले पठाउँछु भन्छ भने त्यो सबै झुठ हो । भारतबाट महिलाहरू कुनै पनि हालतमा वैदेशिक रोजगारीमा जानु हुँदैन । भारतबाट गएमा दुःख पाइने पक्का छ ।

० महिलाहरू कुन–कुन देशमा रोजगारीका लागि जान सक्छन् ?

– साउदी, कुबेत, दुबै, कतार, बहराइन र ओमानमा रोजगारीका लागि जाने कानूनी व्यवस्था छ । यि देशहरूमा घरेलु महिला कामदारका रुपमा जान पनि छुट छ । हामीले त्यसको विरोध गरिरहेका छौँ । महिला कामदारलाई घरेलु काममा पठाउनु हुँदैन ।

० मेनपावरका एजेन्टहरूले गर्दा रोजगारीमा जाने कामदारलाई महँगो पर्छ भन्छन् हो र ?

– त्यो त हो । केही आर्थिक भार रोजगारमा जाने व्यक्तिलाई पर्छ । रोजगारमा जान चाहने व्यक्ति सिधै मेनवापर कम्पनीमा आएर आफै बुझ्यो भने उसलाई धेरै राहत हुन्छ । खर्च पनि कम हुन्छ ।