२८ आश्विन २०८३, बुधबार

एमाले नेता राधाकृष्ण मैनालीलाई कारबाही ? ओली र माधव नेपालले पोलिटव्युरो बैठकमा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य राधाकृष्ण मैनालीमाथि कारवाही हुने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको एमाले पोलिटब्युरो बैठकले पार्टी नेतृत्वविरुद्ध नियोजित रुपमा लागेको भन्दै मैनालीमाथि कारवाही गर्ने निष्कर्ष निकालेको हो । साथै मैनालीले भर्खरै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ भन्ने आत्मकथामा उल्लेख गरेका दाबी र आरोपलाई एमालेले खारेज गरेको छ ।

मैनालीले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालविरुद्ध विभिन्न मिडियामा अपाच्य अभिव्यक्ति दिँदै आएका छन् ।

बैठकमा कसले के भने ?

आज बसेको पोलिटब्यूरो बैठकमा बरिष्ठ नेता माधव नेपालले मैनालीको विषय प्रवेश गराएका थिए । पार्टीको केन्द्रीय समितिमा बसेर मैनालीले सिंगो पार्टीको बदनाम गर्ने ढंगले हुँदै नभएका कुरा प्रचार गरेर अध्यक्ष ओली र आफूसहित अन्य नेतृत्वको बदनाम गर्न खोजेको भन्दै उनले ती आरोपहरुको पार्टीले आधिकारिक रुपमै खण्डन गर्नुपर्ने र मैनालीलाई कारवाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

उपाध्यक्ष बामदेव गौतमले पनि प्रक्रियामा गएर यो विषयलाई अन्त्य गर्न अध्यक्ष ओलीलाई सुझाव दिए ।

जवाफमा अध्यक्ष ओलीले मैनालीले कुण्ठा र द्वेष पुस्तक तथा अन्तरर्वार्तामार्फत व्यक्त गरेको भन्दै कारवाही गर्ने संकेत दिए । पार्टी नेतृत्वमाथि लगाइएको अधिकांश आरोपहरु झुटा र कपोलकल्पित भन्दै अध्यक्ष ओलीले मैनालीले लामो समयदेखि आफूभित्र रहेको द्वेष र कुण्ठा अहिले आएर प्रकट गरिरहेको टिप्पणी गरे ।

आजको बैठकमा मैनालीको आरोपको सार्वजनिक रुपमै खण्डन गर्दै उनीमाथि अनुशासन आयोगले स्पष्टीकरण लिने र त्यसपछि अन्य कारवाही अघि बढाउने सहमति भएको स्रोतले बतायो ।

२०५९ सालमा पार्टी छाडेका नेकपा एमालेका संस्थापक नेता मैनाली करिब एक वर्ष अघिमात्र एमालेमा फर्किएका थिए ।