४ मंसिर २०८३, शुक्रबार

तोकिएकै मितिमा स्ववियू निर्वाचन हुनेमा विद्यार्थी संगठन विश्वस्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ फागुन । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन आगामी फागुन १४ गते हुनेमा विद्यार्थी संगठन विश्वस्त देखिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै विद्यार्थी नेताहरुले चुनाव जसरी पनि हुने दावी गरेका हुन् ।

अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन हुने र त्यसका लागि आफुहरू पनि तयार रहेको बताका छन् ।

सो क्रममा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले कुनै पनि हालतमा स्ववियू चुनाव हुने र गर्नुपर्ने बताइन् । पूर्ण समानुपातिक र उमेर हद लगायतको बाहाना बनाएर क्याम्पसमा तालाबन्दी गर्ने काम जायज नभएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई निर्वाचनमा भाग लिन आग्रह गरिन् ।

उनले भनिन्–‘आजमात्रै रेक्टरको गाडी जलाउने काम भएको छ, हामी यसको घोर भत्सर्ना गर्दछौँ, अग्रजहरुको रगतसँग जोडिएको विद्यार्थी आन्दोलनको इतिहासलाई जोगाउनको लागि हामी तयार छौं ।’

उनले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन् ।

त्यस्तै, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने निर्वाचनमा नेवि संघले यस पटक ८२ प्रतिशत मत ल्याएर निर्वाचित हुने दावी गरेका छन् । उनले कुनै बाहानामा निर्वाचन रोक्ने काम गर्न नहुने समेत बताए ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आठ बर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन यस पटक तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यसअघि संगठनहरुबीचको विवाद, विश्व विद्यालय लगायतका कारण चुनाव रोकिएको भएपनि यस पटक सबै विद्यार्थीले चुनाव चाहेकाले स्ववियू निर्वाचन हुने बताए ।

उनले अघि थपे,‘नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ, यसले निर्वाचन हुनेमा शंका उब्जाएको छ, अर्कोतर्फ आज रेक्टरको गाडी जलाईएको छ, आजमात्रै होईन १२–१३ गतेसम्म पनि भिसीको गाडी जलेपनि निर्वाचन हुनुपर्छ । उनले पनि या निर्वाचनमा सबैभन्दा बढी सिट जितेर देखाउने उद्घोष गरेका छन् ।

मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले विद्यार्थी संगठनभित्र आफुपनि पुरानै विद्यार्थी नेता भएको दावी आफ्नो संगठन पनि चुनावमा जान तयार भएको बताए । यदि चुनाव नहुने हो भने यसको जिम्मेवार ठूला दलहरुले लिनुपर्ने उनले बताए ।

कार्यक्रममा राप्रपा विद्यार्थी संगठनका नेता धनसुर शाही, अनेरास्ववियू पाँचौका घनश्याम मिश्र, विद्यार्थी नेता पूर्णबहादुर सिंहलगायतका विद्यार्थी नेताले आफ्ना स्ववियु निर्वाचनका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
स्ववियू निर्वाचनमा १० वटा विद्यार्थी संगठनहरूले भाग लिने प्रतिवद्धता जनाएका छन् ।