काठमाडौं, २ फागुन । सरकारले डिआइजी जयबहादुर चन्दलाई मर्यादाक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गरेको विरोध गर्दै वृद्धवृद्धाहरु प्रदर्शनमा उत्रिएका छन् ।
वृद्धवृद्धाहरुको संगठन अग्रज समाज नेपालले सोमबार काठमाडौंको मीनभवनमा प्रदर्शन गरेका हुन् । सरकारले गलत नियतका साथ नियम, कानुन र मर्यादाक्रम मिचेर चन्दलाई आइजीपी बनाएको भन्दै वृद्धवृद्धा आन्दोलनमा उत्रिएका हुन् ।
सरकारको यस्तो प्रवृतिले देशमा अराजकता मौलाउने भन्दै तत्काल निर्णय फिर्ता लिन वृद्धवृद्धाहरुले सरकारसँग माग गरेका छन् ।
आइजीपी जसलाई बनाएपनि नियमसंगत ढंगमा हुनुपर्ने अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।
सरकारले आइजीपी नियुक्तिसम्बन्धी निर्णय फिर्ता नलिएसम्म आन्दोलनलाई निरन्तरता दिने वृद्धवृद्धाहरुले बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी चन्दलाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै सर्वोच्च अदालतले चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोमबार अदालतले चन्दलाई पदस्थापन नगर्न अर्को आदेश दिएको छ ।











प्रतिक्रिया