
काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजीपी नियुक्ति सम्बन्धमा अर्को आदेश जारी गरेको छ । अदालतले पुनः डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न अर्को आदेश दिएको छ ।
आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रीटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई पदस्थापन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।
साथै, आइतबार दिएको आदेशलाई यथावत राखी मुद्दालाई कपिलदेव ढकालले दायर गरेको रिटसँगै राखेर आगामी ८ गते पेश गर्न आदेश दिएको छ ।
रीट निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, तुलसी भट्ट, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।
प्रधानन्यायाधीश कार्कीकै एकल इजलासले हिजो (आइतबार) मात्र चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
आफू ज्येष्ठ डीआईजी भएको र प्रहरी महानिरीक्षक नियुक्त गर्दा ज्येष्ठताको पक्ष ख्याल नगरिएको भन्दै नवराज सिलवालले हिजो निर्णय खारेजीको माग राखी सर्वोच्चमा रिट दिएका थिए ।











प्रतिक्रिया