३ कार्तिक २०८३, मंगलबार

‘अबैध मदिरा कारोबारीलाई कुनै पनि हालतमा छाडिदैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १ फागुन । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले अबैध मदिरा कारोबारीलाई कुनै पनि हालतमा नछाड्ने उद्घोष गर्नुभएको छ ।

कपिलवस्तु मदिरा व्यवसायी संघले जिल्लाको बाणगंगा नगरपालिका १३, कोइली बनगाईमा आयोजित तेस्रो साधारण सभालाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत पौडेलले यस्तो चेतावनी दिनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख करअधिकृत पौडेलले करलाई मैत्रीपूर्ण बनाउन व्यवसायीलाई आग्रह गर्नुभयो । आफ्नो कारोबार अनुसारको करमा कुनै किसिमको छली गर्न नहुने उहाँले तर्क राख्नुभयो ।

प्रमुख करअधिकृत पौडेलले मदिर व्यवसायीले बुझाउनुपर्ने करबारे सचेत हुनुपर्ने बताउँदै सबै मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो । मदिरा व्यवसायी संघका केन्द्रिय सदस्य गिरीराज पौडेलले सम्पूर्ण मदिरा व्यवसायी संगठित हुनुपर्ने बताउनुभयो । घरेलु मदिराको अबैध कारोबारले व्यवसायी मर्कामा परेको उहाँले गुनासो गर्नुभयो ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका उपाध्यक्ष गोपाल बहादुर के.सी.ले व्यवसायी र राजस्व कार्यालयबीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो । होटल व्यवसायी संघका उपाध्यक्ष के.सी.ले मदिरा व्यवसायीले हरेक फर्ममा संस्थाको पहिचान झल्किने मेनुसहितको लिष्ट राख्नुपर्ने सुझाव दिनुभयो । मदिरा व्यवसायी संघकी महिला सदस्य शान्ता सापकोटाले व्यवसाय र महिला उद्यमशिलतामा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रुपन्देही मदिरा संघका अध्यक्ष लोचन ढकालले सम्पूर्ण मदिरा व्यवसायीलाई संगठनमा आबद्ध भई करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

संघका अध्यक्ष धनिराम पौडेल (घनश्याम) ले आगामी योजना र सन्देश कक्षपतिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मदिरा व्यवसायमा भइरहेको अस्वस्थ प्रतिष्पर्धा र विकृति विसंगतिलाई रोक्न व्यवसायी संघ क्रियाशील भई लाग्ने अध्यक्ष पौडेलले बताउनुभयो । कार्यक्रमको संचालन मधु सिग्देलले गर्नुभएको थियो । २०७२ सालमा गठन भएको कपिलवस्तु मदिरा संघमा जिल्लाका एकसय बढी मदिरा व्यवसायी आबद्ध छन् ।