
काठमाडौँ, २८ माघ । नेपाल प्रहरीको महानिरीक्षकमा डीआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको प्रयासविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
अभिवक्ता कपिलदेव भट्टले शुक्रबार रिट दर्ता गरेका हुन् । रिट दर्ताको समयावधि २ बजेभित्र भए पनि कार्यालय समयपछि ३ बजे सर्वोच्चमा रिट दर्ता भएको छ । सरकारले आइतवारको क्याबिनेट बैठकबाट चन्दलाई नयाँ आइजिपी नियुक्त गर्न लागेकै दिनलाई अदालतमा पेशी तोकिएको छ ।
लोकमान सिंह कार्की प्रकरणमा झैं अब सर्वोच्च अदालतको कोटमा पुगेको छ । रोलक्रमलाई समेत मिचेर राजनीतिक भागबण्डाका आधारमा प्रहरीको प्रमुख नियुक्त गर्न लागिएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो । सरकारको नेतृत्व गरिरहेको माओवादी र काँग्रेसले प्रहरीको प्रमुखमा भागबण्डा गरेका थिए । जसअनुसार, नेपाल प्रहरीमा काँग्रेसले रोजेको र सशस्त्रमा माओवादीले रोजेको व्यक्ति हुनुपर्ने समझदारी भएको बताइएको छ । सोही समझदारी अनुसार काँग्रेस सभापति देउवाले तेस्रो वरियताका डीआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन लागेका छन् । गृहमन्त्री विमलेन्द्र निधि पहिलो रोलक्रममा रहेका नवराज सिलवाललाई नियुक्त गर्ने पक्षमा रहे पनि अन्तिम समयमा आएर देउवाका सामु झुकेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि रोलक्रम मिच्न नहुने पक्षमा छन् । रोलक्रम मिच्दा सुरक्षा निकायमा गलत छाप पर्ने भन्दै प्रचण्डले अडान लिँदै आएका छन् । सत्तासाझेदार काँग्रेसका सामु उनको अडान टिक्ने सम्भावना देखिएको थिएन । तर, अब यसको निष्कर्ष अदालतले नै आइतबार दिने भएको छ ।











प्रतिक्रिया