
काठमाडौँ, २८ माघ । टेलियासोनेराले नेपालमा रहेको आफ्नो सहायक कम्पनी एनसेल बिक्री गरेपछि नेपालका कर अधिकारीले टेलियालाई कर तिर्नका लागि आव्हान गरे । टेलिया आफूले जिम्मेवार तरिकाले नेपाल छोडेको दाबी गर्छ । तर जब कर अधिकारीहरुले टेलियाका प्रेसिडेन्टलाई बैठकमा बोलाए, उनले नेपाल छोडेर हिंडे ।
एनसेलले बर्षैपिच्छे ठूलो मात्रामा नाफा कमाइरहेको थियो । तर टेलियाको एसियामा रहेको व्यावसाय तथा भ्रष्टाचारबीच सम्बन्ध देखिएपछि टेलियाले एसिया क्षेत्र छोड्ने निर्णय गर्यो । हालसम्म टेलियाले नेपालमा रहेको आफ्नो व्यवसाय मात्र बिक्री गर्न सकेको छ । र, टेलिया भन्छ उ नेपालबाट जिम्मेवार तरिकाले बाहिरिएको छ ।
‘हामीले महसुस गरेको जिम्मेवारी तथा आफूले लिनुपर्ने जिम्मेवारी हामीले निर्वाह गरेका छौं । मलाई लाग्छ एनसेलले आठ वर्षमा नेपालमा के योगदान गर्यो त्यसको बारेमा कुरा गर्नु पनि महत्वपूर्ण छ । कम्पनीले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको छ,’ टेलियाका प्रमुख कार्यकारी योहान डेनेलिन्ड भन्छन् ।
प्रमुख कार्यकारी देश छोडेर हिंडे
गत वर्ष अप्रिलमा (वैशाखमा) जब एनसेलको कारोबार सम्पन्न भयो, नेपालका कर अधिकृतहरुले उक्त कारोबारमा कसरी कर लाग्छ भन्ने विषयमा छलफल गर्नका लागि कम्पनीका प्रमुख कार्यकारीलाई बैठकमा बोलाए । कर अधिकारीले यसमा उनको व्यक्तिगत दायित्व समेत रहनेतर्फ इंकित गरे । तर प्रमुख कार्यकारी कहिल्यै उपस्थित भएनन् । उल्टै उनी नेपाल छोडेर हिंडे । र, केही हप्तामा एनसेल व्यवस्थापनमा रहेका टेलियाका अन्य २ व्यक्ति पनि नेपाल छाडेर हिँडे ।
टेलिया भन्छ– स्थानीय विज्ञहरुसँगको परामर्शपश्चात तत्कालिन व्यवस्थापनमा रहेका व्यक्तिहरुमाथि अनावश्यक दबाब आउने आंकलन रह्यो । उनीहरुको सुरक्षालाई मध्यनजर गरेर उनीहरुले देश छोड्नु पर्छ भन्ने निर्णय गरेको टेलियाका प्रमुख कार्यकारी योहान बताउँछन् ।
टेलियाले ‘तिर्छ यदि कानुनी आधार छ भने’
नेपाली पत्रपत्रिकाले एनसेलका प्रेसिडेन्टले कर अधिकारीहरुलाई सहयोग नगरेकाले कानुनी कारवाही व्यहोर्ने जोखिम रहेको लेखेका छन् । तर, टेलिया भन्छ– उसले केही गल्ती गरेको छैन र उ नेपालमा कर तिर्न बाध्य छैन ।
‘सहि सँधै सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानुनी आधार छ भने । हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) प्राप्त गरेका छौं, जोडघटाउ शुन्य छ । नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं,’ योहान भन्छन् ।
कर घोषणा गरेको छैन
टेलियाले कारोबारको कर विवरण बुझाएको छैन । उसले हल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचामार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने टेलियाको विश्वास छ ।
तर नेपालको आयकर ऐनले स्पष्ट भन्छ– विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । नेपाल सरकार, आयकर ऐन लेख्ने अधिकारी तथा नेपालका कर अधिकृत सबै स्पष्ट छन् कि ‘एनसेल कारोबारको कर नेपालमै तिर्नुपर्छ ।’
‘हो, उनीहरु यसबाट उम्कन सक्दैनन्,’ अर्थमन्त्री कृष्णबहादुर महराले स्वीडिस टेलिभिजनलाई भने ।
स्विडिस सरकारलाई सम्पर्क गर्न सक्ने
ठूलाकरदाता कार्यालयका प्रमुख अधिकृत शोभाकान्त पौडेल भन्छन् – टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारीस्तरमा उठाउने छ । ‘मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै विदेश मन्त्रीलाई जानकारी गराउने छ, जसको स्विडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौं।’
टेलियाले कर विवरण नबुझाएकोले नेपाली कर अधिकारीले टेलियालाई ठ्याक्कै कति कर तिराउने भन्ने यकिन हुन सकेको छैन । एक अनुमानका अनुसार यो जरिवानासहित १ अर्ब स्विडिस क्रोनर (करिब १२ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ ।
अर्बौं लाग्न सक्छ
स्रोतका अनुसार, कर रकम १२ अर्ब रुपैया भन्दा बढी हुन पनि सक्छ । नाम सार्वजनिक गर्न नचाहने स्रोतहरुले कागजातहरु देखाउँछन् जसले टेलियाले एनसेल खरिद गर्दा र बिक्री गर्दाको रकमबीचको फरकलाई न्युन मुल्याङ्कन गरेको छ । यस गणना अनुसार लाभमा कर २ अर्ब स्विडिस क्रोनर (करिब २४ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ । जरिवानासहित गर्दा यो रकम ४ अर्ब स्विडिस क्रोनर (करिब ४८ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ । र, प्रमुख कार्यकारीले कर अधिकारीको बैठकमा भाग लिन जानुको सट्टा देश छोडेर जान रुचाएको तथ्यका बाबजुद योहान डेनेलिन्ड भन्छन् – ‘टेलियाले जिम्मेवार रुपमा नेपाल छोडेको छ ।’
‘जिम्मेवार बहिर्गमन’
‘हो, त्यहाँबाट जिम्मेवार बहिर्गमन भएको छ । प्रमुख कार्यकारीलाई देश छोड्न लगाएर जिम्मेवार बहिर्गमन भन्नु अलिक नमिल्ने हुन सक्छ ।
पूरै यात्राका दौरान हामीले सही र गलतका लागि उभिएका छौं । यो विवादास्पद हुनेछ ? पक्कै, यो विवादास्पद हुन सक्छ र हामी खुशीसाथ त्यो छलफलमा भाग लिने छौं । तर हामी दबाबको अगाडि झुक्ने छैनौं । यो दबाब हो । यदि उनीहरुले उसलाई (प्रमुख कार्यकारीलाई) नियन्त्रणमा लिएका भए अझै अप्ठेरो हुन्थ्यो, अझै दबाब बढ्थ्यो । हामी त्यस्तो परिस्थितिमा हुन चाहदैनौ । त्यसैले उनले देश छोडे ।’
स्विडिस टेलिभिजन एसभिटीले तयार पारेको समाचारको लिंक पढ्न यहाँ क्लिक गर्नुहोस्















प्रतिक्रिया