४ मंसिर २०८३, शुक्रबार

मधेसका समस्या थाँति राखेर निर्वाचन सम्भव छैन्ः कांग्रेस नेता बडू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले मधेसका समस्या थाँति राखेर कुनै पनि निर्वाचन सम्भव नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेस खरकडा गाविस एकाइले गाउँ जागरण कार्यक्रमअन्तर्गत आज रातामाटामा आयोजना गरेको कार्यक्रममा नेता बडूले मधेसलाई बाहिर राखेर गरिने चुनावको औचित्य नभएको बताउनुभयो । ‘मधेसको समस्या समाधान जरुरी छ, नभए निर्वाचन सम्भव हुन्न’ उहाँले भन्नुभयो ।

एउटा समूदायलाई बाहिर राखेर निर्वाचनको औचित्य कसरी रहन्छ नेता बडूले प्रश्न गर्नुभयो । त्यसैले मधेसका समस्यालाई नै सवैभन्दा प्राथमिकतामा राख्नु पर्छ ।

मधेसको समस्या समाधान भए मात्र निर्वाचनका सहज वातावरण बन्ने उहाँको धारणा थियो । तत्कालका लागि सिमांकनको विषयलाई थाँति राखेर पनि निर्वाचनमा जानुपर्नेमा केन्द्रीय सदस्य बडूले जोड दिनुभयो ।

नयाँ संरचना अनुसार स्थानीय निकायको निर्वाचनमा जान सकिने तर दलहरुबीच सहमति बन्न नसके पुरानै संरचनामा भए पनि चाँडो भन्दा चाँडो स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जनताले समयमै स्थानीय निकायको निर्वाचनको आश गरेका गरेका छन्’ नेता बडूले भन्नुभयो– ‘जनता निर्वाचनको पक्षमा छन् ।’ स्थानीय तहको निर्वाचनका लागि जनता उत्साहित रहेको आफूले पाएको उहाँले बताउनुभयो ।

महाकाली नदीमा झोलुंगे पुल निर्माण कार्य सुरु

फरक प्रसंगमा नेता बडूले भारतसीत सिमा जोडिएको महाकाली नदीमा दार्चुलाको लाली र तिगरममा झोलुंगे पुल निर्माण कार्य सुरु भएको बताउनुभयो । भारत सरकारको सहमतिपछि ती दुवै ठाउँमा पुल निर्माण कार्य अगाडी बढेको उहाँले जानकारी दिनुभयो । दुवै ठाउँमा करिब रु एक करोड ९० लाखको लागतमा पुल निर्माणका लागि ठेक्का समझौता भइसकको उहाँले बताउनुभयो ।

गाउँ जागरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस दार्चुलाका सभापति लतिलसिंह बोहराले काँग्रेसले सत्तामा छँदा होस वा बाहिर रहँदा होस विकास निर्माणमा कार्यमा योगदान दिँदै आएको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका नेता मदन गिरीले विगतमा काँग्रेसले अगाडी बढाएका खानेपानी, शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायत योजनालाई निरन्तर अगाडी बढाउँदै लगेको बताउनुभयो ।

काँग्रेस नेता जगदिश पालले अब काँग्रेस एक ढिक्का भएर स्थानिय तहदेखि संसदको निर्वाचनमा होमीएको बताउनुभयो । बिगतका कमी कमजोरीबाट पाठ सिक्दै पार्टी जनताका माझ आएको उहाँको धारणा थियो । नेता धीरेन्द्रसिंह साउदले गाउँ जागरण कार्यक्रमलाई जिल्लाभरी सञ्चालन गर्न लागेको र जनताको सहभागिता अत्यधिक रहेको बताउँदै पार्टीले जहिल्यै पनि जनताको हितमा काम गर्दै आएको बताउनुभयो ।

नेपाली काँग्रेस खरकडा गाविस सभापति महेन्द्रराज जोशीको सभापतित्वका सम्पन्न भएको सो कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । यस अघि लाली, उकु, डाडाकोट, कुँडी गाउँ जागरण कार्यक्रम सम्पन्न भइसकेको बताइएको छ ।