काठमाडौं, २३ माघ । उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिका बीच काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मूलुक (अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरिया) लगायत देशका १६ वटा शहरहरुमा नेपाली वस्तुहरुको विक्री प्रवर्द्धनलाई प्रोत्साहित गर्ने उद्देश्यले छुट्टै प्रदर्शनी तथा विक्री कक्ष संचालन गर्ने बिषयमा सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उद्योग मन्त्रालयको सभाहलमा आज आयोजित कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितीमा उद्योग मन्त्रालयका तर्फबाट सह सचिव दिनेश घिमिरेले र काठमाडौं महानगरपालिकाका तर्पmबाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिंह तामाङ्गले हस्ताक्षर गर्नुभयो ।
सहमति अनुसार काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ । यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने आज आयोजित कार्यक्रममा व्यक्त गरियो ।
सो अवसरमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्धेश्यका साथ उद्योग मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको बताउनु भयो । यसले नेपाली वस्तुहरुको बजार विस्तारका साथसाथै उद्यमीहरुको आर्थिक क्षमता विस्तारमा सघाउने उहाँको भनाई थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले अहिले काठमाडौं महानगरपालिकाको विश्वका १६ वटा शहरहरुसंग भगिनी सम्वन्ध कायम रहेको र निकट भविश्यमानै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको उद्योग मन्त्रालयले पहिलो पटक गरेको यस प्रकारको कार्यले नेपालको उद्यमशीलता विकासमा सघाउ पुग्ने बताउनु भयो । स्थानिय निकायलाई प्रयोग गरी गर्न लागिएको यो प्रयाशले अन्तराष्ट्रिय स्तरमा स्थानिय कुटनीतिका माध्यमबाट नेपाली वस्तुहरुको बजार विस्तार गर्न सफल हुने विचार व्यक्त गर्नुभयो ।















प्रतिक्रिया