काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिबद्धतासहित बनेको वर्तमान सरकार अहिले आएर चुनावबाट पछाडि हट्न खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका छ नम्बर वडा ईकाई समितिले आइतबार बिहान काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने, ‘चुनाव गर्ने प्रतिवद्धतामा बनेको सरकारले निर्वाचन गर्न आलटाल गर्न थालेको छ । सरकारप्रति आशंका बढ्न थालेका छन् ।’ उनले तत्काल चुनावी वातावरण बनाएर मिति घोषणा गर्न सुझाव दिए ।
कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच तिक्तता बढेका समाचार आइरहेका बेला कांग्रेसकै प्रभावशाली नेताले सार्वजनिक रुपमा सरकारले चुनाव नचाहेको आरोप लगाएका हुन् ।
‘तह वा निकाय केको चुनाव गर्ने भन्ने अन्योलता देखाएर चुनावबाट पछि हट्न खोजिएको छ’, उनले भने, ‘यो कुरा कांग्रेसका लागि मान्य हुँदैन । हरहालतमा चुनावको मिति घोषणा गर्नु पर्छ ।’
कांग्रेस नेता सिंहले अन्तरिम व्यवस्थापनअनुसार सरकार गठन, राष्ट्रपति, उप–राष्ट्रपतिको चुनाव गर्न चाहिँ हुने तर स्थानीय तहको चुनाव किन गर्न नमिल्ने भनेर प्रश्न पनि गरेका थिए ।
चुनाव गर्दा असंवैधानिक हुन्छ भने मान्यता गलत रहेको उनको भनाइ छ । नेता सिंहले भने, ‘स्थानीय तहको प्रतिवेदन आउँदै गर्छ । चुनावको मिति घोषणा गरेर पहिला वातावरण तयार गरौँ ।’
उनले चुनावका विषयमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । नेता सिंहले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय चुनावको तयारीमा जुट्न निर्देशन समेत दिएका थिए ।











प्रतिक्रिया