कृष्णनगर, २३ माघ । नेपालकै सबैभन्दा ठूलो मदरसा कपिलवस्तुको कृष्णनगरस्थित जामिया सिराजुल उलूम अलसल्फियाका प्रमुख धर्मगुरु मुफ्ती मौलाना अब्दुल हन्नानको मृत्यु भएको छ ।
मदरसामा ५० वर्षदेखि कार्यरत मुफ्ती हन्नानको ८५ वर्षको उमेरमा मृत्यु भएको हो । मुफ्ती हन्नान जामिया सिराजुलको सबैभन्दा ठूला धर्मगुरु थिए । हन्नानको मृत्युले अहिले मदरसा परिवारका साथै मुस्लिम समुदाय शोकाकूल बनेका छन् ।
मुस्लिम धार्मिक परम्परा अनुसार मुफ्ती हन्नानको कृष्णनगरस्थित कबरीस्तानमा अन्तिम संस्कार गरिएको छ । हन्नानका एक छोरा अब्दुल मन्नान पनि जुमाको प्रवचन दिने एक धर्मगुरु ‘खतिब’ हुन् ।
मुस्लिम धर्ममा ‘मुफ्ती’ धार्मिक ग्रन्थसम्बन्धी अध्ययन पूरा गरेका सबैभन्दा ठूलो पद हो । मुफ्ती पद पाएका हन्नान जस्तै नेपालमा औंलामा गन्न सकिने छन् । धर्मसम्बन्धी कुरा बाझ्यो भने मुफ्तीले धर्मको धार्मिक ग्रन्थलाई हेरेर दिएको आदेश सबैले अनुशरण गर्नुपर्ने हुन्छ ।
यसैबीच मदरसा जामिया सिराजुल उलूम अलसल्फियाका अध्यक्ष समीम अहमद नदवीले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै हन्नानको मृतात्माको चीर शान्तिको कामना गरेका छन् ।
यस्तै राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकुफी र महासचिव एवं केन्द्रिय शिक्षा मदरसा परिषदका सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ ले समेत शोक वक्तव्य प्रकाशित गर्दै हन्नानको मृतात्माको चीरशान्तिको कामना गर्दै अल्लाहले शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी समबेदना प्रकट गरेका छन् ।
मुफ्ती हन्नानको मृत्युले नेपालकै सबैभन्दा जेठो मदरसालाई ठूलो क्षति पुगेको शोक विज्ञप्तीमार्फत राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकूफीले बताएका छन् ।
यसैगरी मौलाना मशहूद खाँ नेपालीले मुफ्ती हन्नानको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै राष्ट्रिय मदरसा बोर्डबाट हन्नानलाई सम्मान दिन पहलकदमी चाल्ने बताएका छन् ।












प्रतिक्रिया