४ मंसिर २०८३, शुक्रबार

वैशाखभित्रै सरकार ढल्छः एमाले नेता थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्य थापा

बागलुङ, २२ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड स्थानीय निर्वाचनको बहानामा सत्ता लम्ब्याउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारीको १९ औं स्थापना दिवसका अवसरमा बागलुङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले बैशाखसम्म सत्ता लम्ब्याउने प्रचण्डको योजना कांग्रेसले सफल हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री एक महिना मात्रै भए पनि सत्ता लम्ब्याउने खेलमा हुनुहुन्छ, थापाले भन्नुभयो–तर नेपाली कांग्रेसले बैशाख भन्दा पर जान नदिने निश्चित छ । पत्रकारहरुले टिपोट गर्न आग्रह गर्दै थापाले मनमोहन अधिकारीलाई अस्पतालको बेडबाट अविश्वास प्रस्तावका बारेमा स्पष्टीकरण दिन लगाउने शेरबहादुर देउवाले प्रचण्डलाई बाँकी राख्दैनन् भन्नुभयो ।

सत्ताका नाममा संविधान कार्यान्वयनको मुद्दालाई कमजोर बनाउने काम सत्ता पक्षबाट भएको आरोप लगाउदै थापाले राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
सरकारका कारण निर्वाचन पर धकेलिदै गएको भन्दै उहाँले आगामी कात्तिकमा तीन वटै तहको निर्वाचन एकसाथ गर्ने गरी दलहरुबीच सहमति नभए संविधान कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नु भयो ।

हरिनारायण गौतम, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा, प्रगतिशिल पत्रकार संघका सचिव विजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविन शिशिरको स्वागत र सचिव सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच प्रेस चौतारी बागलुङले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिताबाट पत्रकार हरिनारायण गौतमलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । नगद १० हजार एक सय सहित प्रशंसापत्रद्वारा प्रमुख अतिथि थापाले गौतमलाई सम्मान गर्नु भएको थियो ।

साथै पत्रकारिता पुरस्कार स्थापनाका लागि भाग्यले बाचेका डकुमेन्ट्री प्रदर्शन गरेर कोष स्थापना गरिएको थियो । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । पत्रकार हरिनारायण गौतमका बारेमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरिषले प्रकाश पार्नु भएको थियो ।