नेकपा माओबादी केन्द्रको एक सहायक संगठन यौङ्ग कम्यूनिष्ट लिग (वाईसीएल) हो । युवाहरुलाई परिचालन गर्नकै लागि माओबादी केन्द्रले यो संगठन निर्माण गरेको थियो । यसै संगठनमा आबद्ध एक युवा हुन् अर्जुन साउद । कञ्चनपुर घर भई हाल वाईसीयलको केन्द्रीय सदस्य रहेका साउद आगामी वैशाखमा हुने एकताको राष्ट्रिय सम्मेलनमा केन्द्रीय सचिवका लागि उम्मेदवारीको तयारी गरिरहेको छन् । साउद भर्खरै राजधानीमा सम्पन्न वाइसीएलको राष्ट्रिय एकता भेलामा भाग लिन काठमाडौं आएका थिए । यसैविषयमा साउदसंग दैनिक नेपालले गरेको कुराकानी यसप्रकार छः
१.वाईसीएलको राष्ट्रिय एकता भेला कस्तो रह्यो ?
वाईसीएलको राष्ट्रिय एकता भेला सफलतापूवर्क सम्पन्न भएको छ । देशभरका युवाहरुमा नयाँ उर्जा थपेको छ ।
२. वर्तमान परिस्थितीमा वाइसीएलको भूमिका र भावी कार्ययोजना के छ ?
पार्टीलाई बलियो बनाउनकै लागि वाइसीएलको आवश्यकता महशुस गरिएको थियो । अहिले विशेष रुपमा संगठनले समयमै निर्वाचनको मिति घोषणा गरी निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको छ । साथै, स्थानीय प्रादेशिक तथा केन्द्रीय चुनावको मिति यथाशिघ्रै घोषणा गरी नेकपा (माओबादी केन्द्र) लाई विजयी गराउन संगठनले विभिन्न कार्यक्रम ल्याएको छ ।
मुलुकमा देखिएको महंगी, भ्रष्टचार, कालोबजारी, विकृति, विसंगती रोक्ने कार्यमा पनि सरकारलाई झकझक्याइरहेको छ । आसन्न स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई विजय गराउने कार्यमा पनि अग्रसर रहेको छ ।
यस संगठनका भावी योजना भन्नुपर्दा, युवाहरुलाई विदेश पलायन हुने कार्यमा हाम्रो संगठन गम्भीर छ । अतः विदेश पलायन रोक्न र स्वदेशमै रोजगारीको अवस्था सृजना गर्नका लागि राष्ट्रिय उ्रद्योगहरु सञ्चालन गर्न हाम्रो संगठनले निजी क्षेत्र र सरकारसंग अनुरोध गर्दै आइरहेको छ । त्यसमा लागिरहेको पनि छ ।
सामाजिक अभियान अन्तर्गत सातवटै प्रदेशहरुमा स्वास्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिविस, मालपोत कार्यालय लगायत सरकारी तथा सार्वजनिक स्थलहरुमा सम्बन्धित निकायसंग सहकार्य गरी स्वयमसेवकको भूमिका निर्वाह गर्न वाइसिएल परिचाल गर्ने तयारी गरेका छौं ।
साथै, १६ वर्ष उमेर पुगेका युवाहरुहरुलाई मतदानको अधिकार र राज्यको हरेक अंगमा युवाहरुको एक तिहाई सहभागिता अनिवार्य गर्न हुनुपर्छ भन्नेप्रति हाम्रो माग रहनेछ ।
वाइसिएलको वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरपालिकाको बैठक भेला तथा सम्मेलनहरु आगामी चैत्र १५ भित्र जिल्ला तथा प्रदेश सम्मेलन सम्पन्न गरी २०७४ बैशाख ९, १० र ११ गते वाइसिएलको एकता राष्ट्रिय सम्मेलन गरी संगठनलाई पुनः व्यूताउने योजना पनि बनेको छ ।
३. राष्ट्रियताको पक्षमा अहिले माओबादी केन्द्र पछि परेको भन्ने छ, तपाई के भन्नुहुन्छ ?
यो वाइयात प्रचार गरिएको कुरा मात्रै हो । प्रचारबादी राष्ट्रबादको कुरा मात्रै गर्ने दलका नेतारुलाई एक दिन जनताले अवश्य चिन्ने छन् । त्यो दिन तिनीहरुको अन्तिम दिन हुनेछ ।
राष्ट्रियताकै पक्षमा कमजोर भनिँदै आएपनि हालै प्रचण्ड सरकारले पहाडिया अतिबादी सोच र प्रवृति, मधेशी अतिबादी प्रवृति र देश विखण्डन गर्न अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई पनि पक्राउ गरेको छ । अनि कसरी राष्ट्रियताको पक्षमा कमजोर भयो प्रचण्ड सरकार ?
उल्टै यो सरकारले थुप्रै काम गर्न भ्याएको छ । हाल मात्रै प्रधानमन्त्री प्रचण्ड आफै राष्ट्रिय गौरवका योजनारु स्थलगत अनुगमन गरी दु्रत गतिमा काम सूचारु गर्न आदेश दिनुभएको छ । साथै ठूला योजनाहरु कुनै विदेशीलाई नदिइकन स्वदेशी निर्माण कम्पनीहरु आफैले बनाउनका निमित्त पहल पनि गर्नुभएको छ ।
प्रचण्ड सरकारले ल्याएको उज्यालो नेपाल अभियान, भूकम्प पीडितलाई राहत तथा पुनः निर्माण लगायतका कामहरु महत्वपूर्ण छन् । विदेशमा रहेका नेपालीहरुप्रति पनि सरकारको उच्च पहल गर्दै आएको छ ।
४. अब आगामी बैशाखमा हुने वाइसिएलको एकताको राष्ट्रिय सम्मेलनमा तपाईको के तयारी छ ?
माओबादी भित्रको सांगठनिक संरचना सुधार्न वाइसिएलले राष्ट्रिय सम्मेलनमा केन्द्रीयता छोडी पूर्ण रुपमा जनबाद लागू गरी सबै तहमा निर्वाचन गरिनेछ । यसले पार्टी तथा संगठनको ट्राफिक जाममा परेका सक्रिय युवाहरुलाई योग्यता र क्षमताको आधारमा नेतृत्व तहमा ल्याउन सहयोग गर्नेछ ।
यसैअनुरुपमा आगामी राष्ट्रिय सम्मेलनमा मैले पनि संगठनको केन्द्रीय सचिवमा उम्मेदवारी दिने सोच गरेको छु । आशा पनि छ, सम्पूर्ण प्रगतिशिल क्रान्तिकारी युवाहरुको साथ र सहयोग हुनेछ ।
५. राजनीतिलाई अगाडि बढाउने स्रोत के छ तपाईसंग ?
हाम्रो पार्टीले ल्याएको उत्पादन नीतिअनुसार मैले जिविकोपार्जनका लागि कञ्चनपुरको देखतभुलीमा प्रगतिशिल पशुपाल तथा कृषि फर्म दर्ता गरी पाँच विगाह क्षेत्रफलमा माछा पोखरी, बंगुरपालन, कुखुरा पालन र बाख्रा पालनको सुरुवात गरेको छु ।
अब राजनीतिलाई पेशा ठान्ने प्रवृतिको अन्त्य हुुनुपर्छ । साथै राजनीतिमा लागेर रातारात धनी बन्ने नेताहरुको सम्पन्धित पार्टी तथा संगठनले छानविन गरी कार्वाही गर्नुपर्छ मेरो मान्यता हो ।















प्रतिक्रिया