४ मंसिर २०८३, शुक्रबार

सीके राउतविरुद्ध जनप्रदर्शन, देशद्रोहको मुद्दा लगाउन माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । देश विखण्डनको अभियान सञ्चालन गरेको आरोपमा पक्राउ परेका सीके राउतविरुद्ध आज काठमाडौंमा जनप्रदर्शन गरिएको छ ।

रैथाने एकता परिषदको आयोजनामा बानेश्वरमा भएको जनप्रदर्शनपछिको सभामा बोल्ने बक्ताहरु राउतविरुद्ध कडा रुपमा प्रस्तुत भए । एक हप्ताअघि सीकेको प्रभाव क्षेत्र सिराहाको लहानमै गठन भएको परिषदले राउत पक्राउ परेको भोलिपल्टै उनीविरुद्ध जनप्रदर्शन गरेको हो ।

जनप्रर्दशनपछि आयोजित सभामा बोल्ने बक्ताहरुले सीके राउतलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । सभामा बोल्दै एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सीके राउत व्यक्ति नभएर प्रवृति भएकाले त्यसबिरुद्ध सम्पूर्ण नेपाली जात, भाषा, क्षेत्र, पार्टीभन्दामाथि उठ्नुपर्ने बताइन् । सीके राउतलाई पक्रदै छाड्दै गरिएकोमा अब त्यसो गर्न नहुने बताइन् ।

यदि अझै पनि उनलाई छोड्ने काम भए सम्पूर्ण नेपाली एक भएर बिरुद्धमा उत्रिनुपर्ने शान्ताले बताइन् । शान्ताले भनिन्- ‘यही मञ्चबाट म सरकारलाई चेतावनी दिन चाहन्छु, अब पहिले जस्तो सीके राउतलाई नछाडियोस्, कडाभन्दा कडा कारवाही गरियोस् ।’

हिजो (विहीबार) जनकपुरबाट पक्राउ परेका राउतलाई आज सिराहा जिल्ला अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।