काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद केशवप्रसाद बडालले भारतले नेपाललाई चारओटा एम्बुलेन्स दान दिएर वर्षमा २ अर्ब क्षति पुर्याउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसदको बिहीबारको बैठकमा बोल्दै सांसद बडालले १२ जनवरीमा भारतले गरेको एउटै निर्णयले नेपाललाई दैनिक ५० लाख घाटा भइरहेको बताए । उनले यसबारे सरकारले सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरे ।
भारतले तेस्रो मुलुकबाट नेपाल सामान आयात गर्ने कन्टेनरमा ४ दशमलव ५ प्रतिशत सेवा शुल्क लिने निर्णय गरेकोमा सरकारले मौन स्वीकृति दिएर राष्ट्रघात गरेको उनले आरोप लगाए ।
प्रधानमन्त्री भारतसँग मिलेको भन्दै उनले भने- ‘देशलाई घाटा पार्ने भारतीय निर्णयको उहाँले स्वागत गर्नुभएको छ । नेपालमा तेस्रो देशका करिब ७ सय कन्टेनर भारत हुँदै आउँछन् । भूपरिवेष्ठित मुलुकमाथि यो ठूलो अन्याय हो ।’
प्रधानमन्त्रीले सगर्व भारतको समर्थक बनेको भन्दै उनले भने- ‘प्रधानमन्त्रीज्यू आफूले भारतसँग सम्बन्ध सुधार गरेको भन्नुहुन्छ । एमालेलाई भारत विरोधी भनेर प्रचार गर्दै आफू भारत समर्थक भएको सगर्व बताउनुहुन्छ । तर, यो निर्णयले नेपाललाई २ अर्ब रुपैयाँ घाटा हुँदैछ ।’












प्रतिक्रिया