काठमाडौं, १८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘संविधान संशोधन नगरिकन निर्वाचनको मिति घोषणा गर्नु प्रतित्युपादक हुन्छ, यो सरकार बनेकै संविधान संशोधन गर्नको लागि हो, त्यसैले संशोधन नगरी चुनावमा जानु भनेको द्धन्द्ध बढाउनु हो, नहुने निर्वाचनको मिति घोषणा गरेर प्रधानमन्त्रीले जोखिम मोल्नुहुँदैन् ।’
उनले भने, ‘संशोधन विद्येयक पारित गरेरमात्रै चुनावमा जानु सुल्टो बाटो हो, यसले मात्रै मुलुकको समस्या दीर्घकालिन रुपमा समाधान गर्छ, उल्टो बाटो हिँड्नको लागि प्रधानमन्त्रीलाई कसैले पनि प्रेरित गर्नुहुँदैन् ।’ देशलाई सही दिशामा अघि बढाउनको लागि दलहरुवीच समझदारी बन्नुपर्ने उनको भनाई थियो । उनले संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राखे ।












प्रतिक्रिया