४ मंसिर २०८३, शुक्रबार

राप्रपाको अधिवेशनमा चीन र भारतबाट नेताहरू आउने, धुम्बाराहीमा भयो समीक्षा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन मूल आयोजक समिति र सचिवालयको संयुक्त बैठकले महाधिवेशनका विषयमा विभिन्न निर्णयहरू गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकले फागुन ६ देखि ९ सम्म काठमाडौंमा हुन गईरहेको ऐतिहासिक एकता महाधिवेशनको तयारी सन्दर्भमा छलफल गरेको हो । विभिन्न विषयगत ११ वटा समितिको तर्फबाट संयोजक एवं सदस्य सचिवहरुले महाधिवेशन तयारी सन्दर्भमा आ–आफ्नो समितिको तर्फबाट भईरहेको तयारी र कार्य प्रगतिको विवरण प्रस्तुत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले काठमाडौंमा हुने ऐतिहासिक एकता महाधिवेशनमा झन्डै १ लाख मानव महासागर उतार्ने तयारी गरिरहेको सहप्रवक्ता किरण गिरीले बताए ।

महाधिवेशनमा छिमेकी मित्रराष्ट्र भारत, चीन, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र भुटानका राजनीतिक दलका नेताहरुलाई बोलाईएको छ ।

झन्डै ३५०० महाधिवेशन प्रतिनिधीहरूको सहभागितामा हुने सो महाधिवेशनले राप्रपाको नेतृत्व चयन, पार्टीको नीति, कार्यक्रम र दृष्टिकोण तर्जुमा गर्नुका साथै आगामी निर्वाचनहरुमा राप्रपालाई सशक्त रुपमा राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गराउने अठोट र संकल्प समेत गर्नेछ ।

ऐतिहासिक एकता महाधिवेशनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी देशको एउटा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने राप्रपाका नेताहरूको दाबी छ ।

अधिवेशन तयारीकै सन्दर्भमा राप्रपाले देशभरिका सबै गाविस र नगरपालिकाहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ भने २४० वटै निर्वाचन क्षेत्रहरुमा आगामी २१ गते शुक्रवार क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै क्षेत्रीय नेतृत्वको चयन गर्नेछ ।

आगामी २५ गते ७५ वटै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै जिल्लाको नेतृत्व चयन हुनेछ । यसरी सबै स्थानीय तहको नेतृत्व चयन पश्चात राप्रपाले झन्डै तीन हजार पाँच सय महाधिवेशन प्रतिनिधीहरुको छनौट गरेर फागुन २ गते भित्र महाधिवेशन मूल आयोजक समितिको सचिवालयमा पठाईसक्ने महामन्त्री टंक ढकालले बताए ।