
आजभन्दा ७६ वर्ष अगाडि १५ माघ १९९७ को साँझ गंगालाल श्रेष्ठको घर प्याफलकै बाटो दशरथ चन्द र गंगालाल श्रेष्ठ लाइ शोभा भगवतीमा मृत्युदण्ड दिन लैजाँदैगर्दा आफ्नो घर अगाडि पुगेपछि भर्खरै सुत्केरी भएकी श्रीमतीको नाम लिएर ३ पटक ‘हसना’ भनेर गंगालालले बोलाउँदै जनरल नर शमशेर, हजुरिया लप्टन बेदबहादुर सिलवालसहितको लरी शोभाभगवती पुग्यो, विष्णुमती र भाचाखुसीको दोभानमा एकै ठाउँमा गाडिएका बाँसको खाबोमा चन्दलार्इ उत्तरतिर र श्रेष्ठलाइ पश्चिमतिर फर्काएर बाँधियो ।
गोली पहिले कसलाई हान्ने भन्ने बिबादका बीच गंगालाललार्इ माफी माग्न भनियो । गंगालालले ‘त राणा जल्लादसंग मैले किन माफी माग्ने ?’ भन्ने प्रश्नका बीच दशरथको घुँडामा गोली हानियो ।
उनले ‘राणाशाही मुर्दाबाद’को नारा लगाए । गंगालालले साथदिए । त्यसपछि गंगालालको घुँडामा गोली हानियो । फेरि चन्दको तीघ्रामा गोली दागियो । चन्द छट्पटाए ।
त्यो देखेर गंगालालले ‘सक्छस् भने तेरो बाबुलाई एउटै गोली हानेर मार न ।’ नर शमशेरले रिसले काँप्दै गंगालालको तीघ्रामा गोली दागे । स्थिति उत्तेजक भएपछि उनीहरूलाई गोली हान्न भनेर तयार गरिएका रक्सीले मत्तु भएका २ पोडेहरू नै रुन थाले ।
उनीहरु गोली हान्न तयार पनि भएनन्…। तब नरशमशेर आफैले पोडेलार्इ सम्झाएर गोली हान्न लगाए । उसले थप २ गोली चन्दको छातीमा हानेर अन्त गरिदिए ,।
गंगालाल श्रेष्ठलाई गोली हान्न ल्याइएका अर्का पोडे रुँदै म त गोली हान्दिन्न भन्दै भागे । त्यसपछि चन्दलाई नै गोली हान्न ल्याइएको पोंडेलार्इ नै नरशमशेरले अँगालो मार्दै पिस्तोलबाट ३ गोली गंगालाल श्रेष्ठको कोखा अनि छातीमा दागिदिए । यसरी यी २ बीरहरूले शहादत प्राप्ति गरे…।
यसअघि नै १९९७ माघ ८ मा धर्मभक्त माथेमा र माघ १० मा शुक्रराज जोशी (शास्त्री)लाई झुण्डयाएर मृत्युदण्ड दिइसकिएको थियो ।
त्यसबखत गणेशमान सिंह, चन्द्रमान मास्के, गोबिन्द उपाध्याय, टंकप्रसाद आचार्यहरूलाई आजीवन काराबासको संजाय सुनाइएको थियो ।
यी बीरहरूको शहादतका क्षणहरू कति गौरवशाली छन भने, जब उनीहरूलाई माघ ६ गते मृत्युदण्डको सजाय सुनाइयो, त्यसको भोलिपल्ट माघ ७ गते जेल सजाय पाएकाहरूलार्इ जेलमा लैजाँदै गर्दा सिंहदरबारको थुनुवा कोठाको बरण्डामा गंगालाल श्रेष्ठ साथै उभिइ दशरथ चन्दले उनीहरूलाई सम्बोधन गर्दै हिन्दीमा भनेका थिए । ‘तुम लोग तो जिए हो यार, काम करना । हम लोग तो चले हि जाएंगे, लेकिन फिर भी भुत बनकर यिनको (राणाओको) सतायेंगे ।’
देशमा परिवर्तनका लागि शहादत प्राप्ति गरेका यस्ता बीरहरूले सोँचेको जस्तो परिवर्तनको बाटो बन्यो कि बनेन ? सम्बन्धितले सोच्नै पर्ने भएको छ । शहीद दिवसको यस पुण्य अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धा–सुमन ।
(शिवजी श्रेष्ठको फेसबुकबाट साभार)















प्रतिक्रिया