४ मंसिर २०८३, शुक्रबार

मिति घोषणा भएलगत्तै मधेसवादी दल निर्वाचनमा सहभागी हुने एमालेको विश्वास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १५ माघ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले साँच्चिकै स्थानीय तहको निर्वाचन गर्न चाहेको भए तत्काल मिति घोषणा गर्न माग गर्नुभएको छ । प्रधानमन्त्रीले यसअघि आफैले गरेको प्रतिवद्धता कार्यान्वयन गर्दै जनतामा बिश्वासको वाताबरण बनाउनका लागि पनि छिटो भन्दा छिटो स्थानीय तहको मिति घोषणा गर्नुपर्ने उपाध्यक्ष ज्ञवालीको आग्रह छ ।

‘निर्वाचनको मिति घोषणाका लागि अब कुनैपनि समस्या छैन,’ प्रेस चौतारी बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘अब पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने प्रधानमन्त्रीले आइतबारदेखि बोलेका साँचो कुरामा पनि बिश्वास हुनेछैन् ।’

उपाध्यक्ष ज्ञवालीले सरकारले स्थानीयतहको निर्वाचन गर्न नसक्ने हो भने प्रचण्ड नेतृत्वको बर्तमान सरकारको सम्पूर्ण उपादेयता समाप्त हुने र यसले नेकपा माओवादी (केन्द्र) र नेपाली कांग्रेसलाई राजनीतिक नोक्सानी हुने दावी गर्नुभयो ।
उहाँले मधेस केन्द्रीत राजनीतिक दललाई संविधान संशोधनको एजेण्डा लिएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । सरकारले निर्वाचनको मिति घोषणा गरेमा मधेस केन्द्रीत दलहरु बाध्य भएर निर्वाचनमा सहभागी हुने उहाँले दावी गर्नुभयो । ‘निर्वाचनमा नजानु भनेको जनताप्रति बिश्वास नगर्नु हो,’ उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘एमालेलाई पक्का बिश्वास छ, अहिले बहिष्कार भनेपनि मधेस केन्द्रीत दल पनि निर्वाचनमा सहभागी हुनेछन् ।’

उहाँले अहिले निर्वाचनको समय भएको भन्दै संविधान संशोधन आवश्यक नभएको बताउनुभयो । प्रतिपक्षीको बिरोधका बावजुद संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन नसके त्यसलाई थाँती राखेर भएपनि निर्वाचनमा जान सकिने उपाध्यक्ष ज्ञवालीको भनाई छ ।

स्थानीय तह पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन तत्काल मन्त्रिपरिषदबाट पारित गरी राजपत्रमा प्रकाशित गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । संसदमा पारित नहुने संसद प्रस्ताव थाँती राख्नु नै सबैपक्षको जीत हुने उहाँले बताउनुभयो ।

ज्ञवालीले कम्तिमा ३ प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने बताउदै यसमा सहमति जुटन नसके मतदानका माध्यमबाट पनि हल गर्नुपर्ने बताउनुभयो ।