काठमाडौं, १४ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको अलग अलग बैठक बस्दैछ ।
काठमाडौंमा आज बस्ने बैठकमा संविधान संशोधनमा ल्याउने भनिएको परिमार्जनको विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । ‘संविधान संशोधनमा ल्याउने भनिएको परिमार्जनको विषयमा छलफल हुन सक्छ’, उनले भने, ‘कार्यदलले गृहकार्य गरिरहेको छ । कार्यदलको प्रस्ताव बैठक पेश गरिनेछ ।’
मधेसी मोर्चाले सीमाङ्कन, नागरिकता, भाषालगायतका विषयमा संशोधनको माग गर्दै आएको छ ।
संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएको मधेसी मोर्चा र संघीय गठबन्धनले स्थानीय तह सीमा निर्धारण समितिको प्रतिवेदनको विरोध गर्दै आएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहान ११ बजेपछि मधेसी मोर्चाको बैठक बस्नेछ । दिउँसो दुई बजे संघीय समाजवादी फोरम नेपालको मुख्यालय तीनकुनेमा संघीय गठबन्धनको बैठक बस्ने तयारी छ ।











प्रतिक्रिया