भैरहवा, ११ माघ । रुपन्देहीको दुई वटा गोली काण्डमा लामो समय हुन लाग्दा समेत प्रहरीले अभियुक्त सार्वजनिक नगर्दा दुई वटै गोली काण्ड सेलाउँदै गएको देखिएको छ । दुई वटै गोलीकाण्डमा प्रहरीले दजर्नौ व्यक्तिहरूलाई धरपकड गर्दै सोधपुछ र केरकार गरेपनि लामो समय बितिसक्दा समेत प्रहरीले घटनाको अभियुक्तहरुलाई पक्राउ गर्न नसक्दा घटना सेलाउँदै गएको छ । यद्यपि युवा संघका रुपन्देहीका कार्यवाहक अध्यक्षका दुर्गा तिवारीको घटनाको दोषीलाई कारवाही गर्न एमालले दवाव दिइरहेको कारण घटनाको अनुसन्धान भइरहेको अझै देखिन्छ ।
पहिलो घटना
गत मंसिर २१ गते सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीस्थित आफ्नै निवासमा बसिरहेका अवस्थमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि गोली चल्यो । तर गोली उनलाई लागेन र उनले तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले पनि तत्काल भैरहवा बाहिरीने क्षेत्रमा चेकजाँच सुरु ग-यो । र गोली चलेको केही समयभित्र प्रहरीले बेथरीबाट रुपन्देही सिपवाका विरेन्द्र यादवलाई हतियार (कट्टा) सहित पक्राउ ग-यो ।
पक्राउ गरेको केही समयभित्र नै प्रहरीले न्यौपाने माथि गोली प्रहार गर्ने यादवनै हुन भन्ने दावी गर्दै संचारकर्मीहरुलाई जानकारी गरायो । र, प्रहरीले यादव माथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी कारवाही प्रक्रिया चाल्यो । तर घटनाको ४५ दिन (डेढ महिना) बितिसक्दा समेत प्रहरीले घटनाको अभियुक्तलाई सार्वजनिक गर्न सकेको छैन ।
प्रहरी स्रोतका अनुसार यादव हतियारसहित बेथरीबाट पक्राउ परे पनि न्यौपानेमाथि प्रहार भएको गोलीको खोका र यादवको साथबाट बरामद भएको हतियारमा लाग्ने गोलीबीच मेल खाँदैन । त्यसैले पनि अहिले रूपन्देही प्रहरीले न्यौपाने गोली काण्डको अभियुक्तलाई सार्वजनिक गर्नबाट चुकिरहेको बुझिएको छ ।
साथै सिद्धार्थ उद्योग वाणिज्य संघले पनि घटनामा चासो नदेखाएको कारण प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्नमा ढिलाई गरिरहेको प्रहरी स्रोतले बताएको छ ।
दोस्रो घटना
न्यौपाने गोली काण्डको मुद्दा सेलाउन नपाउँदै पुस ४ गते रूपन्देहीको खैरेनीमा गोली चल्यो । गोली लागि नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रूपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको मृत्यु भयो ।
घटनाको एक महिना बितिसक्दा समेत प्रहरीले अनुसन्धान जारी रहेको र ‘अपराधी नजिकै’ रहेको भन्दै एक महिना देखि आफ्नो रेडिमेड जवाफ दिदै आएको छ ।
घटनापश्चात आफुलाई मनोज पुन बताउने व्यक्तिले स्थानिय नेता र विभिन्न संचारमाध्यममा फोन गरेर घटनाको जिम्मा लिएपछि घटनामा पुनकै संग्लनता रहेको भन्दै प्रहरीले घटनाको रात मनोज पुनको तस्विर सार्वजनिक गर्यो । साथै सोही दिन घटनामा प्रयोग भएको बा ५१ प ८०७३ नम्बरको १ सय ५० सिसिको प्लसर मोटरसाइकल घटनास्थल खैरनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कन्छी बजारमा वेवारिसे अवस्थामा फेला पार्यो । तर उक्त नम्बर प्लेटको मोटरसाइकलको खोजतलास गर्दा मोटरसाइकलको नम्बर प्लेट नक्कली निस्कियो ।
प्रहरीले घटनाको २४ घण्टा भित्र घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको, घटनाको संग्लन रहेको आशंकामा अनुसन्धानका लागि ३ जना युवाहरुलाई नियन्त्रणमा लिएको र घटनामा प्रत्यक्ष मनोज पुनको संग्लनता रहेको भन्दै तस्विर सार्वजनिक गरेको थियो । तर उक्त समयमा नियन्त्रणमा लिइएको युवाहरुलाई प्रहरीले छाडिसकेको छ ।
त्यस्तै सरकारले पनि एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा पनि उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । तर उक्त समितीले पाएको समयअवधी भित्र घटनाको प्रतिवेदन सार्वजनिक गर्न नसकेपछि समितीलाई थप केही दिनको समय दिइएको छ ।
त्यसपछि प्रहरीले घटनामा के गरिरहेको छ भन्ने केही पनि सार्वजनिक गरेको छैन । घटना पश्चात युवा संघले आन्दोलन थालेको र प्रहरीले आफुहरुले ‘अभियुक्त नजिकै’ रहेको कारण छिट्टै पक्राउ पर्ने आश्वासन दिएपछि संघ आन्दोलन स्थागित गरेको थियो । तर प्रहरीले आफुहरु ‘अपराधी नजिकै’ रहेको भन्दै गरेको एक महिना बितिसक्दा समेत घटनाको दोषीलाई अझै सम्म पनि पक्राउ गर्न सकेको छैन ।
घटनाको दोषी मनोज पुन नै हुन वा अरु कोही अहिलै पनि भन्ने स्थिती छैन । तर पुनको तिवारीसगँ पुरानो दुश्मनी, यस अघि पनि पुनको निर्देशनमा तिवारी माथि चलेको गोली र पुनले स्थानिय नेता, विभिन्न संचारमाध्यममा फोन गरेर घटना जिम्मा लिएपछि प्रहरीले शंकाको सुई मनोज तर्फनै सोझाएर पुनको खोजीकार्य जारी राखेको छ । तर पनि पुनलाई पक्राउ गर्न सकेको छैन ।
घटनाको मास्टरमाइण्ड मनोज पुन भएतापनि गोली चलाउने मोटरसाइकलमा सवार दुई जनालाई पनि प्रहरीले अझै पनि सार्वजनिक गर्न सकेको छैन । यस्तै गोली चलाएर फरार भएको दुई जनाले मणिग्रामको कान्छी बजारमा मोटरसाइकललाई वेवारिसे अवस्थामा छाडेर त्यहाँबाट कसरी र कुन साधनमा भागे ? अर्थात मोटरसाइकल छाडेपछि उनीहरुलाई त्यहाँ भाग्नका लागि पछि कसले सवारीसाधन उपलब्ध गरायो ? मणिग्रामबाट भाग्नलाई सवारी उपलब्ध गराउनेलाई पनि प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । समुहगत रुपमा घटाइएको घटनामा प्रहरीले एक महिना सम्म समेत एक जनालाई पनि सार्वजनिक गर्न सकेको छैन ।
यता केही दिन अघि युवा संघ रुपन्देही रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई घटनाको विषयमा ज्ञापन पत्र बुझाउँदै एक हप्ता भित्र घटनाको दोषीलाई पक्राउ गरी कार्यवाही नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताउँदै दुवै घटनाको दोषीलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने रुपन्देहीका डिएसपी एवं प्रवक्ता बेल बहादुर पाण्डे बताउँछन् ।
पुनको खोजीको लागि सिआइबी टोली भारतमा रहेको र केही दिन भित्र पुन पक्राउ पर्ने रुपन्देहीका एक प्रहरी अधिकृतले दावी गरे । तर न्यौपाने गोलीकाण्डमा कसैले चासो नदेखाएको कारण प्रहरीले पनि अनुसन्धानमा ढिला सुस्ती गरिरहेको छ ।












प्रतिक्रिया