रियाद, १० माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान संविधान कार्यान्वयन नभए मुलुक अझ बढी अस्थिर हुने धारणा व्यक्त गर्नु भएको छ ।
नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको पहिलो अधिवेशनलाई रियादमा आइतबार सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनका लागि दलहरु एउटै कित्तामा उभिनुको विकल्प नभएको दाबी गर्नुभयो । संविधान संशोधन प्रस्तावमा अनावश्यक बखेडा झिकेर एमालेले वर्तमान राजनीतिलाई असहज बनाइरहेको आरोप नेता पौडेलले लगाउनुभयो ।
संविधान संशोधन प्रस्तावमा कुनै राष्ट्रघाती प्रावधान नभएको भन्दै नेता पौडेलले सस्तो लोकप्रियता भन्दा पनि धरातलीय यथार्थमा आधारित राजनीति गर्न एमालेलाई सुझाव दिनुभयो ।
यसैबीच अधिवेशनले दीपक रेग्मी अध्यक्ष तथा सुरेशराज त्रिपाठी महासचिव रहनु भएको २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
वैदेशिक रोजगार मन्त्रालय आवश्यक
यसैबीच रियादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने धारणा राख्नु भएको छ ।
श्रम मन्त्रालय एक्लैले वैदेशिक रोजगारको भार थेग्न नसक्ने भन्दै उहाँले खाडी मुलुक सहित अन्य राष्ट्रहरुमा रहेका झण्डै ४० लाख श्रमीकहरुको समस्या समाधान गर्ने गरी छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने माग राख्नु भएको हो । यसका लागि आफूले पार्टी केन्द्रीय समिति बैठकमा शशक्त आवाज उठाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
कार्यक्रममा कार्यवाहक नेपाली राजदूत आनन्द शर्माले दूतावासका अप्ठ्याराका विषयमा नेता पौडेललाई जानकारी गराउनु भएको थियो । साउदी अरेयिबापछि नेता पौडेलले संयुक्त अरब इमिरेट्स र बहराइनमा हुने जनसम्पर्क समितिका कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया