काठमाडौं, १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको आरम्भ सल्यान जिल्लाबाट सुरुवात गर्ने भएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति सल्यानले माघ १४ गते सदरमुकाम खलंगामा आयोजना गर्ने ‘स्थानीय चुनाव तयारी आमसाभा’लाई देउवाले सम्बोधन गरेर निर्वाचन कार्यक्रमको सुरुवात गर्ने कांग्रेसका युवा नेता ऋषिकेशजंग शाहले जानकारी दिए ।
स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै कांग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई देशभरि खटाएको छ । कांग्रेसका नेताहरू ७० जिल्लामा पुगिसकेका छन् ।
पुस महिनाभरि जिल्लामै बसेर वस्तुस्थिति बुझेर केन्द्रमा प्रतिवेदन दिनुपर्नेछ । प्रतिवेदनबारे विश्लेषण गर्न माघको तेस्रो साता केन्द्रीय समितिको बैठक बोलाउने तयारी देउवाले गरेका छन् । माघको दोस्रो साता बितिसक्न लाग्दासमेत अधिकांश जिल्लाबाट प्रतिवेदन आएको छैन ।
जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, भ्रातृसंगठनका जिल्ला कार्यसमिति तथा क्षेत्रीय समितिको छुट्टाछुट्टै भेला सम्पन्न गरी सबैको राय लिइएको छ ।
कांग्रेसका युवा नेता शाहले स्थानीय निर्वाचनको सुरुवात सल्यानबाट हुनेभन्दै अरु जिल्लाहरूमा पनि व्यापक तयारी भइरहेको बताए । उनले भने, ‘सल्यानका ४७ वटा गाविसमध्ये २०४९ सालको निर्वाचनमा हामीले ४२ वटामा जित्यौं, तर २०५४ मा भने ६ वटामा मात्रै जित्यौं, यदि हामीबीच विवाद भएन र एकढिक्का हुन सक्यौं भने आगामी स्थानीय चुनावमा हाम्रो अवस्था २०४९ को जस्तै हुन्छ ।’
माघ १४ गतेको आमसभाका क्रममा कांग्रेस सभापति देउवाले सहिद भएका शिक्षकहरूको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
दाङमा जारी माघी महोत्सवमा पनि सभापति देउवा सहभागी हुने छन् । दाङको घोराहीमा एक दिन बस्ने कार्यक्रम बनाएका देउवाले कांग्रेस कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने छन् । त्यसका लागि जिल्ला सभापति कीर्तिबहादुर खड्का र सांसद राजु खनालले तयारी थालेका छन् ।
यसका लागि काठमाडौंबाट सभापति देउवा माघ ११ गते प्रस्थान गर्ने छन् । देउवा बाँकेको कार्यक्रम भ्याएर माघ १५ गते राजधानी फर्कने छन् ।











प्रतिक्रिया